काठमाडौँ । नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
साँझ साढे ५ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा पार्टीभित्रको बढ्दो विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेब गौतमलाई प्रधानमन्त्री बनाउने र नेता माधवकुमार नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउन गरेको प्रस्ताव केन्द्रीत छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको यो प्रस्तावलाई लिएर पार्टीभित्रको विवाद नयाँ मोडमा पुगेको विश्लेषण हुन थालेको छ । सचिवालय बैठक सुरु भएसँगै सार्वजनिक गरिएको तस्विरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड गम्भीर देखिनुभएको छ ।
कतिपयले नेता गौतमलाई आफ्नो गुटमा ल्याउनका लागि अपनाइएको हरसम्भवको प्रयासका रूपमा व्याख्या गरेका छन् भने कतिपयले तत्कालको विवाद साम्य पार्ने ओलीको कुटनीतिका रूपमा पनि व्याख्या गरेका छन् ।
नेकपाभित्रको विवाद सरकारको नेतृत्व परिवर्तनमा गएर टुङ्गिने वा गम्भीर आत्मसमीक्षा हुने भन्ने बारेमा आजको सचिवालय बैठकले तय गर्ने नेकपाका एक नेताले बताए । एमसीसी परियोजनाको विषयमा पनि सचिवालयमा छलफल हुने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७, १८:३७