काठमाडौँ । भएका कम्जोरीमा नेतृत्वले आत्मआलोचना गरेपछि तत्कालका लागि नेकपाभित्रको विवाद बढ्नबाट रोकिएको छ । यही वैशाख २५ गते स्थायी कमिटिको बैठक बोलाउने र सरकार, नेतृत्वका कमिकम्जोरीका बारेमा छलफल गर्ने निर्णय पनि नेकपाले गरेको छ ।
आज बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको सांसद बनाउने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भएका गल्ति, कम्जोरीका लागि आत्मालोचना गरेको पनि श्रेष्ठले बताउनुभयो ।
सचिवालयले पार्टी फुट, विवादका कुनै पनि गतिविधि नगर्न, नगराउन नेताकार्यकर्तालाई निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीले संसद्को अधिवेशन आह्वान गर्न लागेको बारेमा पनि सचिवालयमा जानकारी गराउनुभएको थियो ।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्यमान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी बजेट ल्याउने निर्णय लिएका छौं ।’ प्रवक्ता श्रेष्ठ भन्नुभयो ।
स्थायी कमिटि बैठकको एजेण्डा तय गर्न यही वैशाख २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने निर्णय पनि आज भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७, २१:४६