काठमाडौँ । सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई १ हजार ७ सय ४३ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वासथ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले भन्नुभयो, ‘सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९ को सङ्क्रमणबाट रोक्न सहयोग गर्नेमा म विश्वस्त छु ।”
व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेको जनाइएको छ ।
सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले कोभिड–१९ को सङ्क्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरुसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने आफूहरूको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा निरन्तर क्रियाशिल रहने, स्वाथ्यकर्मीहरूलाई जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो ।
सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको आर्थिक सहायता प्राप्त परियोजनाहरूबाट सङ्घीय, प्रादेशिक र स्थानीय सरकारमार्फत् कोभिड–१९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ ।
सेभ द चिल्ड्रेनले थप २ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को खरिद प्रक्रियामा पनि रहेको जानकारी दिएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रसँगको सहकार्यमा राष्ट्रिय तथा स्थानीय रेडियोहरू मार्फत् बालबालिका तथा समग्र जनमानसलाई लक्षित गरी कोभिड–१९ सँग सम्बन्धी सूचना प्रवाहका कार्यसमेत गरिरहेको सेभ द चिल्ड्रेनले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७, १९:१३