काठमाडौँ । कोरोनाका कारण ठूला होटलहरू ६ महिना बन्द हुने भएका छन् । होटल सङ्घ नेपालका अध्यक्ष सिर्जना राणाले यही वैशाख १ गतेदेखि लागु हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सङ्घले कोभिड १९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो ।
गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशतका लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो ।
उक्त निर्णय सार्वजनिक भएको दोस्रो दिनमै हिजो व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।
सङ्घले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय पनि गरेको छ । कर्मचारीले त्यस्तो तलब लिन नमाने जागिरबाट हटाउने निर्णय पनि सङ्घले गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७, ०९:५२