काठमाडौँ । बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नयाँ सातैजना सङ्क्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।
गएराति भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरू सबैको स्वास्थ्य सामान्य छ । उनीहरू चार जना महिला र तीन जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा १६ जनामा कोरोना देखिएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सबैभन्दा धेरै सङ्क्रमित देखिएको नेपागञ्जलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको छ ।
सर्वदलीय छलफलका आधारमा बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई आजबाट तीन दिनका लागि पूर्णत निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले सीआईएनलाई जानकारी दिनुभयो ।
बाँकेमा आज बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल, व्यापारव्यवासय बन्द रहनेछन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७, ०८:४०