काठमाडौँ । गीतकार तथा साहित्यकार डा डीआर उपाध्यायले एकै दिनमा सात वटा गीति एल्बम रेकर्ड गर्ने पहिलो गीतकारको रेकर्ड बनाउनु भएको छ ।
अन्तराप, जोहो, जखम, नशालु नजर, माउन्टेन मेलोडी, प्रतिनाद र सहेँली गरी सात वटा एल्बममा उपाध्यायले शब्द लेख्नु भएको थियो ।
सङ्गीतकार सन्तोष श्रेष्ठ, बुलु मुकारुङ र सागर अधिकारी 'सरद' ले सङ्गीत दिनु भएको थियो । अहिलेसम्म एकै गीतकारका, एकै दिनमा सात वटा गीति एल्बम रेकर्डको कीर्तिमानी कायम गरेको भन्दै 'एभरेष्ट वर्ल्ड रेकर्ड'ले उपाध्यायलाई प्रमाणपत्र दिएको हो ।
साहित्यकार तथा गीतकार उपाध्यायले केही समयअघि एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राख्नु भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले काठमाडौँमा एक कार्यक्रमका बीच सात एल्बम विमोचन गर्नु भएको थियो ।
पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा उपाध्यायका सातै गीति एल्बम सात प्रदेशस्तरमा पनि लोकार्पण, समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न करिब २२ दिने विशेष अभियान चलाइएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५, १४:४१