काठमाडौँ । सरकारले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना नलिन र कक्षागत पठनपाठन नगर्न, नगराउन आग्रह गरेको छ ।
कतिपय विद्यालयले आफूखुसी भर्ना सुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले स्थगित भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १०, ११ १२ का सम्बन्धमा वस्तुस्थितिको विश्लेषण भइरहेकाले हाल कुनै निर्णय नभएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता दीपक शर्माले सीआइएनसँग बताउनुुभयो ।
मन्त्रालयले निजी अर्थात् संस्थागत विद्यालयले आवास शुल्कबाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवी रुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिइँदै आएको छ ।
अस्ति मात्रै शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले भने अब बिस्तारै विद्यार्थी भर्नाको काम सुरु गर्नुपर्ने बताउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७, ०९:४३