काठमाडौँ । अबको करिव १ साता मुलुकभर मौसमी प्रणाली सक्रिय हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ ।
वर्षा र बदलीमा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुले पनि भूमिका खेलेका कारण मौसमी प्रणाली सक्रिय रहेको मौसमविद् शान्ति कँडेलले सीआईएनसँग बताउनुभयो ।
तत्काल यो मौसमी प्रणाली हट्ने सम्भावना नरहेकाले एक साता यही अवस्था रहने पनि उहाँको भनाइ छ । अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई प्री–मनसुनको समय मानिन्छ । मौसमविदका अनुसार, यो अवधिमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्छ ।
महाशाखाका अनुसार, अप्रिलमा काठमाडौं उपत्यकामा यस वर्ष औसतभन्दा धेरै वर्षा भएको छ । अप्रिलमा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा ९२ मिलिमिटर वर्षा भएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७, १८:५९