काठमाडौँ । सङ्घीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले कोरोना प्रभावित क्षेत्रका नागरिकलाई जोखिममुक्त गर्नका लागि तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभापति सुवेदीले आज एक विज्ञप्ति निकालेर पछिल्लो समयमा देखिएका संक्रमितको सङ्ख्याले बाँकेको नेपालगञ्ज उच्च जोखिममा भन्दै राज्यको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
बाँकेको नेपालगञ्जभित्रका सर्वसाधारणहररूलाई संयमता अपनाएर कोरोनाविरुद्ध एक भएर लाग्न पनि सुवेदीले आग्रह गर्नुभएको छ ।
जनशक्ति, स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा उपलब्ध गराउनका लागि आफ्नै पहलमा स्वास्थ्य मन्त्री लगायत जिम्मेवार मन्त्री तथा अधिकारीसँग नियमित छलफल गरिरहेको जानकारी गराउँदै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति सुवेदीले बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदहरूबीच पनि समन्वय भइरहेको बताउनुभएको छ ।
कोरोना सङ्क्रमितहररूका लागि तयार गरिएको बाँकेको खजुरा क्यान्सर अस्पताल आइसोलेसन वार्ड कम पर्ने भएकाले अन्य अस्पतालहरूमा आइसोलेसन बेडको तयारी गर्न र भेरी अस्पताललाई सुविधा सम्पन्नयुक्तबनाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘यस्तो विषम परिस्थितिमा आफ्नो ज्यानलाई प्रवाह नगरी सेवामा लाग्ने सम्पूर्ण स्वास्थ्यकर्मी मित्रहरु, सुरक्षाकर्मी लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस विकराल परिस्थितिमा हामी सबैले कठोरतापूर्वक नेपाल सरकारले लिएको लकडाउनको नियमको पालना गर्नु गराउनु बाहेक अर्को दोस्रो विकल्प छैन ।’ सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७, २०:१२