काठमाडौँ । भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।
आज सचिवालय बैठक बस्ने भए पनि समय भने तय भइनसकेको नेताहरूले बताएका छन् । आगामी रणनीति तय गर्न नेकपाका शीर्ष नेताहरू अस्ति देखि नै छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
हिजो प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेता झलनाथ खनालसँग पनि वार्ता गर्नुभएको थियो ।
स्थायी समितिको एजेण्डाबारेमा अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल र नेता खनालबीच पनि अलग्गै छलफल भएको थियो । दुई दिनअघि दुवै अध्यक्षको छलफलले स्थायी समितिको एजेण्डाका लागि गृहकार्य गर्न प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७, ०९:०८