नेपालमा आज एकै दिन १७ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
सङ्क्रमितहरू २ महिनादेखि ६६ वर्षसम्मका भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
आज कोरोना पुष्टि भएकामा १० जना पुरुष र ७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको जम्मा सङ्ख्या ९९ पुगेको छ ।
आज नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना सङ्क्रमित भारतीय नागरिक निको भएर क्वारेन्टाइन बस्न गएका छन् ।
निको हुने कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २२ पुगेको छ । यद्यपी २२ मध्ये ३ जनामा अनुगमन जाँच गर्दा फेरि कोरोना देखिएपछि बिभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७, १६:२९