काठमाडौँ । प्रदेश ५ सरकारले कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि आवश्यक किट माग गरेको छ ।
कोभिड–१९ विपद व्यवस्थापन केन्द्र (सीएमसी) को आज बसेको बैठकले नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी देखिएकोले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधि माग गरेको हो ।
मुख्य मन्त्री शङ्कर पोखरेलको उपस्थिमा बसेको बैठकले यी सामग्री उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ ।
बाँकेको नेपालगञ्जमा मात्रै २३ जना र रुपन्देहीमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेश ५ कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।
बैठकले कोभिड–१९ को उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत प्रयोग गर्ने निर्णय पनि गरेको छ ।
कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने पनि निर्णय भएको छ । वैठकले नेपाल–भारत सीमामा थप जनशक्ति परिचालन र सुरक्षाकर्मीलाई आवश्यक सामग्री व्यवस्था गर्न गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७