काठमाडौँ । आजबाट संसदको बजेट अधिवेशन सुरु हुँदैछ । अपरान्ह ४ बजेदेखि सुरु हुने अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका लागि पठाएको पत्र पढेर सुनाइनेछ ।
त्यसपछि केही दिनअघि खारेज भएका अध्यादेशसँग सम्बन्धित एउटा अध्यादेश पेश गर्ने कार्यतालिका छ ।
त्यसपछि शोक प्रस्ताव पारित गर्ने र बिभिन्न राजनीतिक दलका नेताले बोल्ने कार्यतालिका रहेको सङ्घीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सीआईएनसँग बताउनुभयो ।
बैठकलाई सुरक्षित बनाउन प्रतिनिधिसभा र राष्ट्रियसभा सबै सदस्यहरूको कोरोना परीक्षण दिउँसोसम्म गरिसक्ने तयारी संसद् सचिवालयले गरेको छ ।
हिजो २ सय १२ जना सांसदसहित ४ सय ४१ जनाको नमूना सङ्कलन गरिएको छ । बाँकी सांसद्को नमूना सङ्कलनको काम बिहानैबाट भइरहेको छ ।
परीक्षणको नतिजा ४ बजेभन्दा अघि नै आइसक्ने जनाइएको छ । परीक्षणमा प्रतिनिधि सभातर्फका १ सय ७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद हिजोको जाँचमा सहभागी भएका संघीय संसदका सचिव गोपालनाथ योगीले सीआईएनलाई जानकारी दिनुभयो ।
अपरान्ह चार बजे प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ । बैठकमा भौतिक दूरी कामय गर्दै सांसदहरुको बस्ने व्यवस्था गरिएको संघीय संसदका सचिव गोपालनाथ योगीले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँले संसदमा सहभागि हुन आउने सांसदहरुको मूल ढोकामा ज्वारे नापेर भित्र प्रवेश गराइने, संसद भवनमा प्रत्येक सांसदबीच ३ फिटको दूरी कायम गरिने, मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७, ०९:५१