काठमाडौँ । नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि आवश्यक किट आजबाट सम्बन्धित अस्पतालमा पठाइने भएको छ ।
स्वीटजरल्याण्ड सरकार विकास सहयोगमा ३० हजार थान किट हिजो साँझ नेपाल आइपुगेपछि आजबाट अभाव भएका प्रदेशका अस्पतालमा पठाइने छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले केही दिनदेखि नेपालका विभिन्न स्थानमा रहेको प्रयोगशालामा रोकिएको पीसीआर परीक्षण सुचारु हुने सीआइएनसँग बताउनुभयो ।
हाललाई किट पर्याप्त भएको दावी गर्दै प्रवक्ता देवकोटाले आगामी महिनामा कति परीक्षण गर्ने त्यसपछि कसरी जाने भन्ने विषयमा रणनीति बनाएर जाने तयारी भइरहेको जानकारी दिनुभयो ।
देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पीपीआर परीक्षण घटेको मात्र छैन, विभिन्न स्थानका प्रयोगशाला ठप्प भएका छन् ।
काठमाडौँको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढी लगायतका प्रयोगशालामा आरएनए किट सकिएका छन् ।
सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन, तर पाउन सकेका छैनन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७, १०:४८