वीरगञ्ज । वीरगञ्जमा छुट्टै कोरोना अस्पताल बनाउने बारेमा सथ्लगत अनुगमन गर्न स्वास्थ्य मन्त्रालयको टोली आउने भएको छ ।
वीरगञ्ज महानगरपालिकाले गण्डक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन गरेको सिफारिस अनुसार त्यसको भौतिक पूर्वाधारलगायतको बारेमा अनुगमन गर्न मन्त्रालयले टोली पठाउन लागेको हो ।
नारायणी अस्पतालमा पुनःजनरल सेवा सञ्चालन गर्ने र गण्डक अस्पताललाई नारायणी अस्पतालकै शाखाको रुपमा कोरोना विशेष अस्पताल बनाउने गरी भएको सिफारिस अनुसार टोलीले अनुगमन गर्ने छ ।
स्थलगत अनुगमनका लागि मन्त्रालयबाट स्वास्थ्य सचिव रोशन पोखरेल नेतृत्वको तीन सदस्यीय टोली भोलि वीरगञ्ज आइपुग्ने नेकपा नेता एवं संविधानसभा सदस्य विचारी यादवले जानकारी दिनुभयो ।
टोलीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा मदन उपाध्याय र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसँग भेटेर आवश्यक जानकारी लिने जनाइएको छ ।
मन्त्रालयले नारायणी अस्पताललाई पुनः जनरल अस्पताल बनाउने निर्णय गरिसकेको र अनुगमनका लागि भोलि वीरगञ्ज आउने टोलीले त्यसको आधिकारीक पत्र पनि दिने यादवले बताउनुभयो ।
नारायणी अस्पताललाई जनरल अस्पताल बनाउनबाट रोक्न विभिन्न षड्यन्त्र भइरहेको भन्दै यादवले त्यस्ता षड्यन्त्र अब नचल्ने टिप्पणी गर्नुभयो ।
वीरगञ्ज आउने अनुगमन टोलीले नारायणी अस्पतालमा अहिले उपचारार्थ रहेका कोरोना सङ्क्रमितहरुको व्यवस्थापन र जनरल सेवा सुरु गराउने विषयमा अवलोकन गर्ने छ ।
नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन मन्त्रालयले निर्णय गरेको भनेर केही दिन अघि नै सार्वजनिक भए पनि आधिकारीक पत्र भने अहिलेसम्म दिइएको छैन ।
अनुगमन गरेपछि नारायणी अस्पतालमा पुनःजनरल अस्पताल सेवा सुरु हुने र गण्डक अस्पताल नारायणी अस्पतालकै नाममा कोरोना विशेष अस्पताल बनाएर सेवा अघि बढाउन अनुमति दिने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७, १७:५७