काठमाडौँ । थप सातजनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण पुष्टि भएसँगै नेपालमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको छ ।
उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा १ जनामा नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलामा कोरोना देखिएको हो भने कपिलवस्तुमा १७ र १८ वर्षका युवामा कोरोना भएको पाइएको हो ।
पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७, ०९:३९