दार्चुला । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी नजिकै व्याँस गाउँपालिका वडा नम्बर १ व्याँसको गाँगा क्षेत्रमा सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक भारतले उद्घाटन गरेसँगै नेपालीमा जारी विरोधका बीच करिब १२ किलोमिटर दक्षिण पूर्वी क्षेत्र गांगामा बिओपी स्थापना गरिएको हो ।
अहिलेको सरकारले यसअघि नै त्रिदेशीय सीमा क्षेत्र व्याँसमा सशस्त्र प्रहरीको बिओपी राख्ने निर्णय गरेको थियो भने करिब दुई वर्ष पश्चात बिओपी स्थापना भएको हो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी टोली आज त्यहाँ गएको होे । ६ महिनाका लागि बन्दोबस्तीका सामग्रीसहित सशस्त्र प्रहरी टोली व्याँस क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्रका डिएसपी बिष्टसहितको टोली केही बन्दोबस्तीको सामग्रीसहित पहिलो चरणमा व्याँस क्षेत्र गएको थियो ।
दोस्रो चरणमा गृह मन्त्रालय सुरक्षा सल्लाहाकार प्रा.डा. ईन्द्रजीत राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा, सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक शंकर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, नेपाली सेनाका सेनानी श्यामराजा बिक्रम थापा, सशस्त्र डिएसपी डम्बरबहादुर बिष्ट, प्रहरी नायब उपरीक्षक पदम बिष्ट लगायतको टोलीले निरीक्षण अवलोकन गरेको छ ।
गृहमन्त्रालयका सुुरक्षा सल्लाहाकार राई भने व्याँस क्षेत्रमै बस्नु भएको छ । उहाँ भोलि मात्रै फर्किनु हुने छ । हाललाई भवन अभाव भएका कारण स्थानीय जीतबहादुर बोहराको घर भाडामा लिएरु सशस्त्र प्रहरीले प्रयोग गरिरहेको छ । सशस्त्र प्रहरीकोे ५० नम्बर गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा टोली खटिएको छ ।
आधा दर्जन सुरक्षाकर्मीहरु आजै खटिएका छन् भने बाँकी सुरक्षाकर्मी भोलि जाने सशस्त्र प्रहरी बल नेपाल हेडक्वारट नम्बर ५० गुल्म दार्चुलाले जनाएको छ ।
२५ जना सशस्त्र प्रहरी टोली त्रिदेशीय गांगामा सुरक्षाका लागि तैनाथ गरिने सशस्त्र प्रहरीले जनाएको छ । साथै भोलि नेपाल प्रहरीको टोली पनि व्याँस क्षेत्रमा खटाउने तयारी भएको प्रहरी नायब उपरीक्षक पदम बिष्टले बताउनुभयो ।
नौजना छाङरु प्रहरी चौकीका लागि पठाउने तयारी भएको छ भने सम्भव भए तिंकर प्रहरी चौकीका लागि पनि प्रहरी टोली खटाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टकोे भनाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७, २२:४४