घ्याङफेदी, नुवाकाेट । नुवाकोटको समुन्द्रटार, रामती, मिश्रभञ्ज्याङ लगायत स्थानीय बजारमा दुईचार वर्ष अघिसम्म घ्याङफेदीबाट झर्ने जो कोहीका हातमा भारतीय रुपैयाँ हुन्थ्यो ।
घरयासी सरसामान किनेर स्थानीयबासी उकालो लाग्थे, देख्नेहरू बम्बईका कोठीमा पुगेका र पुर्याउनेहरूका कारण भारु भित्रिएको भन्दै कानेखुसी गर्थे । एक जना होटल व्यवसायीले सीआईएनसँग भने,‘ मैले गाउँघरमा पशुपालन गरेँ त्यहाँ घ्याङफेदीका नागरिकसँग भेट हुँदा भारतीय रुपैयाँ देख्थेँ, समुन्द्रटारमा पसल गरेँ, होटल व्यवसाय गर्दा पनि त्यताका मान्छेहरूले भारतीय रुपैयाँ नै ल्याउँथे ।’
साँझबिहानको खानामा तरकारी, अचारलगायत परिकार बनाउने र चिया पिउने बानी परेका महिला, पुरुष देख्नेबित्तिकै उनीहरूले बम्बइबाट सिकेर आएको भन्ठान्थ्ये । चेलिबेटी बेचविखनको प्रमुख अखडा भनेर नेपालभरि पहिचान बनाएको घ्याङफेदी बारेको किस्सा यतिमै सीमित छैन ।
हिजोआज राम्रो लाउँदा र खाँदा पनि यहाँका किशोरकिशोरीले एक पटक सोच्नुपर्छ । ‘एकजनाले गर्यो भन्दैमा सबैजनालाई एउटै डालोमा फसाउनु हुँदैन ।’ घ्याङफेदीका युवा किसान नरबहादुर तामाङले सीआईएनसँग भन्नुभयो, ‘कुनै समयमा घ्याङफेदीमा कुनै एकजनाले गर्यो हेला रे, तर अहिलेको पुस्ताका मानिसहरू त्यस्तो छैन । पुरानो रूपमा हाम्रो गाउँलाई हेरिँदा युवा पुस्तालाई सबैभन्दा धेरै दुख लाग्छ ।’
आफूहरूले राम्रो लुगा लगाएर, राम्रो खाएर बाटोमा हिँड्दा पनि मान्छेहरूले अझैँ कुरा काट्ने गरेको उहाँले सुनाउनुभयो । नुवाकोट सदरमुकाम विदुरबाट ३७ किलोमिटर उत्तर पूर्वी क्षेत्रमा घ्याङफेदी छ । दुप्चेश्वर गाउँपालिकाको सबभन्दा ठूलो भूभाग ।
नुवाकोटका प्रहरी प्रमुख बसन्त कुवँरले महिलाहरू सामूहिक र व्यक्तिगत रूपमा हराउनेक्रम नरोकिएको बताउँदै सीआईएनसँग भन्नुभयो, ‘खोजतलासका क्रममा कोही भेटिने र कोही जोखिमयुक्त ठाउँमा पुगिसकेको पाइने गरेको छ । अभिभावक सचेत हुने, निगरानी गर्ने कुरा अझैँ पनि पुगेको छैन ।’
विकास, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताको अभावमा नागरिक अनेक आरोहअवरोह सहन बाध्य छन् ।
घ्याङफेदी माविका सहायक प्रधानाध्यापक प्रेम स्याङ्तानले भन्नुभयो, ‘खाना नपाएपछि, लाउन नपाएपछि यहाँका मान्छेहरूले कुनै समयमा बाध्य भएर त्यसो गरेका हुन् । हामीले यहाँको समाज सुहाउँदो कार्यक्रम बनाउनेतर्फ ध्यानदिनु आवश्यक छ ।’ स्याङतानले थप्नुभयो, ‘शिक्षा, रोजगारी र विकास, निर्माणमा राज्यले पनि ध्यान दिन सकेको छैन । हामी शिक्षामा स्थानीय नागरिकको पहुँच बढाउन र गुणस्तर उकास्नका लागि मेहनत गरेर लागेका छौँ ।’
करिब ८ सय घरधुरी तामाङ समुदायको बसोबास रहेको गाउँमा करिब तीन सयको संख्यामा चेलिबेटी बेचिएको तथ्याङ्क बिभिन्न सङ्घसंस्थासँग छ। सिर्जनशिल रेडपाण्डा आमा समूहका अध्यक्ष शान्तमाया तामाङलाई बितेको कुरा कसैले नकोट्याइदियोस् जस्तो लाग्छ । तर जो गाउँमा पुग्छन् उही कुरा सोध्छन् ।
‘खान नपाएर, लाउन नपाएर पहिले मान्छे बेचेको होला, तर अहिले घ्याङफेदी भनेपछि हामी सबैको नाम जानु राम्रो होइन ।’ शान्तमायाले भन्नुभयो, ‘अहिलेको अवस्था पहिलेको जस्तो त छैन, आमा समूहले पनि गाउँसमाजमा चेतना विस्तारका लागि काम गर्दै आएको छ ।’
घ्याङफेदीका वडा अध्यक्ष सुनबहादुर तामाङ ३७ वर्षका लागि ८ महिनाअघि जेल गए । २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले सुनबहादुरलाई कैद सजाय र साढे दुई लाख जरिवानाको फैसला सुनायो ।
माइति नेपालका उपनिर्देशक अच्युत नेपाल दुई वर्षअघिको अनुभव सीआईएनसँग सुनाउँदै भन्नुभयो, ‘घ्याङफेदीमा जनचेतनामूलक कार्यक्रम लगेर जाँदा पनि हामी कैयौँ पटक डराउनुपर्थ्याे । दुई वर्षअघिको समय पनि त्यस्तै थियो, कार्यक्रम चलाउन लाग्दा हामीले अनेक डरधम्की सुनेका थियौँ । चेलिबेटी बेचबिखन विस्तार कम भए पनि पूर्ण रूपमा रोकिएको भन्न सकिन्न ।’
नुवाकोटको घ्याङफेदी, शिखरबेशी, गाउँखर्क, बेतिनीलगायत गाउँबाट किशोरी बेपता हुनेक्रम रोकिएको छैन । नुवाकोटका प्रहरी प्रमुख बसन्त कुवँरले महिलाहरू सामूहिक र व्यक्तिगत रूपमा हराउनेक्रम नरोकिएको बताउँदै सीआईएनसँग भन्नुभयो, ‘खोजतलासका क्रममा कोही भेटिने र कोही जोखिमयुक्त ठाउँमा पुगिसकेको पाइने गरेको छ । अभिभावक सचेत हुने, निगरानी गर्ने कुरा अझैँ पनि पुगेको छैन ।’
२०७० सालभन्दा अघि चेलिबेटी बेचबिखन अलि बढी नै भएको र त्यसपछिका दिनमा बिस्तारै घट्दै गएको प्रहरी प्रमुख कुवँरले जानकारी दिनुभयो । मानव बेचबिखनमा संलग्न २५ जनाभन्दा धेरैलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको छ ।
बितेको १३ वर्षको अभिलेख केलाउँदा चेलिबेटी बेचबिखनका मुद्दा पर्नेक्रम पनि रोकिएको छ । अहिलेसम्म ८७ वटा मुद्दा दर्ता भएर १ सय ७४ जना पीडक पहिचान गरिएको प्रहरी बताउँछ । चेलिबेटी बेचबिखन रोक्ने आफ्नो योजना सुनाउँदै गाउँखर्कका वडा अध्यक्ष दावा तामाङले आफू मात्रै नभई सबै गाउँबासी पनि त्यति नै सजग भएको बताउनुभयो ।
‘सबैको सचेतताका कारणले चेलिबेटी बेचबिखनका बारेमा हामीले अचेल देख्न र सुन्न पाएका छैनौँ ।’ वडा अध्यक्ष तामाङले भन्नुभयो, ‘केहीगरी कतै देखियो र सुनियो भने चेलिबेटी बेचबिखनजस्तो जघन्य अपराधमा संलग्न जोकोहीलाई कारबाहीका लागि कुनै पनि कसर बाँकी राख्दैनौँ ।’
गाउँघरबाट कुन युवति वेपत्ता भए पनि खोजीका लागि प्रहरीमा उजुरी गर्ने परिपाटी अभिभावकको छैन, जसलाई नियाल्नेहरू गरिबीका कारण अर्थोपार्जन नभइरहेको बेला अभिभावकको बाध्यता ठान्छन् ।
घ्याङफेदी, गाउँखर्कको पाँगर, राउतबेसीको छेपार, करेजुङ, बेतिनीको ताप्सापुराङ, पाखा, नाम्सापुराङ लगायत गाउँ चेलिबेटी बेचबिखनको उच्च जोखिममा छन् ।घ्याङफेदी लगायत आसपासका युवा पशुपालन, तरकारी खेती, शिक्षाको सुधारमा उदाहरणीय काम गरी गाउँको परिचय फेर्ने अभियानमा छन् ।
आजभन्दा पाँचसात वर्षअघि बेखबिखनको अनुपात धेरै थियो । बेचबिखनमा संलग्न गिरोह यति शक्तिशाली थिए कि जनचेतनामूलक कार्यक्रम लिएर जाँदासमेत धम्कि सहनुपर्थ्याे ।
माइति नेपालका उपनिर्देशक अच्युत नेपाल दुई वर्षअघिको अनुभव सीआईएनसँग सुनाउँदै भन्नुभयो, ‘घ्याङफेदीमा जनचेतनामूलक कार्यक्रम लगेर जाँदा पनि हामी कैयौँ पटक डराउनुपर्थ्याे । दुई वर्षअघिको समय पनि त्यस्तै थियो, कार्यक्रम चलाउन लाग्दा हामीले अनेक डरधम्की सुनेका थियौँ । चेलिबेटी बेचबिखन विस्तार कम भए पनि पूर्ण रूपमा रोकिएको भन्न सकिन्न ।’
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले सीआईएनसँग कुराकानी गर्दै चेलिबेटी बेचबिखनका घटना र सार्वजनिक भएका तथ्याङकका बारेमा पनि असन्तुष्टि जनाउनुभयो । ‘केही सङ्घसंस्था घ्याङफेदीलगायतका स्थानमा चेलिबेटी बेचबिखनका सङ्ख्या बढेको देखाएर आफ्नो कार्यक्रम चलाउने उद्देश्यमा केन्द्रित भएका छन् ।’
गाउँपालिका अध्यक्ष तामाङले आफ्नो गाउँपालिकामा रहेका महिलामा चेतनाको स्तर उकास्नका लागि यसपाली ६० लाख रुपैँयाको कार्यक्रम तयारी पारिएको बताउनुभयो । ‘यो कार्यक्रम चेलिबेटी बेचबिखनको जोखिम टार्नका लागि ल्याइएको भए पनि कार्यक्रमको नाम फरक राखिएको छ । विश्वास छ, यसको प्रभाव राम्रो हुनेछ ।’
घ्याङफेदी, गाउँखर्कको पाँगर, राउतबेसीको छेपार, करेजुङ, बेतिनीको ताप्सापुराङ, पाखा, नाम्सापुराङ लगायत गाउँ चेलिबेटी बेचबिखनको उच्च जोखिममा छन् ।
घ्याङफेदी लगायत आसपासका युवा पशुपालन, तरकारी खेती, शिक्षाको सुधारमा उदाहरणीय काम गरी गाउँको परिचय फेर्ने अभियानमा छन् । तर चेलिबेटी बेचबिखनको गाउँ भनेर लागेको परिचय बदल्ने चै कसरी ? घ्याङफेदीमा भेटिएका हरेक नागरिक आफैसँग उत्तर खोजिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५, १०:५१