काठमाडौं । सरकारले आउने बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्वास्थ्य, शिक्षा र रोजगारीलाई विशेष प्राथमिकता दिदै सबै नेपालीलाई आर्थिक उत्थानमा जोडने सरकारको घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीतिमै राष्ट्रियताको विषय पनि उल्लेख गरेको छ ।
लिपुलेख, लिम्पीयाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने घोषाणा गर्नुभयो । लिपुलेख नेपालको भएको भन्दै सरकारले चाडै लिपुलेख लिम्पीयाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
लिपुलेख हुँदै तिब्बतको मानसरोबर जाने सडकको भारतले उद्घाटन गरेको हप्तादिन पुगेको बेला र नेपालमा त्यसको विरोध भइरहेको बेला सरकारले यस्तो घोषणा गरेको हो ।
सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि मृत्यु हुने अवस्था आउन नदिन दृढतापूर्वक लागेको जनाएको छ ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने बताउनुभयो ।
‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनर्संरचना गरी नेपालभर बिस्तार गरिने, एक स्थानमा एउटै बालीको खेती गरिने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।
सामाजिक सुरक्षालाई योगदानमा आधारित बनाउने, अनौपचारक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारमा गएका कामदारलाई समेत यस कार्यक्रममा समेटिने सरकारको योजना छ ।
सरकारले आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकको पहिचान गरी उनीहरुको संरक्षण गर्ने, आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने र वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवालाई उद्यमशील बन्नका लागि सुरुआती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रमले परिकल्पना गरेको छ ।
सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति ल्याएको छ ।
कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने, आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायिक कृषि अभ्यासको योजना ल्याउने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।
हालसम्म पाँच सय ५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बिमा गरेको जनाउदै सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ ।
वैशाख २०७२ को भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने, आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरिएको छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थल र क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल पोखरा आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
चीनसँग सम्झौता भएको सात वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिइने भएको छ ।
कोशी, कर्णाली र गण्डकी नदीमा जलयातायातको विकास गरी त्यसलाई भारतीय जलमार्गसँग जोडिने, मुलुकभर नै तीन अंकको फोन नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने भनिएको छ ।
प्रमुख राजमार्गमा ट्रमा सेन्टरको सेवा उपलब्ध गराइने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठः
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७, १९:२९