काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक रेडियोमैत्री नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको टोलीसँग आज विराटनगरमा भएको भेटमा मुख्यमन्त्री राईले सञ्चार लगायतका नीति निर्माण गर्दा सामुदायिक रेडियोको भावना र मर्मअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको हो ।
सामुदायिक रेडियोको क्षमता विकास र दिगोपनाका लागि आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनु भएको अकारोराबका उपाध्यक्ष अर्जुन राईले जानकारी दिनुभयो ।
केन्द्रीय अध्यक्ष सुवास खतिवडाको नेतृत्वमा गएको अकोराबको टोलीले मुख्यमन्त्री राई र सभामुख प्रदीप भण्डारीसँग छुट्टाछुट्टै भेट गरी सञ्चार नीति निर्माण, सामुदायिक रेडियोको दिगोपना, स्थानीय र प्रदेश सरकारको रेडियो खोल्ने प्रावधान र यसले पार्न सक्ने प्रभाव लगायत विषयमा ध्यानाकर्षण गराएको थियो ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन)लाई १ नम्बर प्रदेशका जनता र सरकारलाई जोड्नका लागि उपयोग गर्दा प्रभावकारी हुने बारेमा पनि आफूहरूले मुख्यमन्त्री र सभामुखको ध्यानाकर्षण गराएको उपाध्यक्ष राईले बताउनुभयो ।
'मुख्यमन्त्रीसँग जनता' लगायतका विशेष कार्यक्रम सीआईएनबाट प्रसारण गर्न सकिने बारे दुवै भेटमा छलफल भएको थियो ।
अकोराबको टोलीको प्रस्तावमा आफूहरू सकारात्मक रहेको मुख्यमन्त्री राई र सभामुख भण्डारीले बताउनु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५, १४:५३