काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट पहिलो पटक व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षका महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
ती महिलाको जेठ १ गते राति मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुईपटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो ।
थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । टेकुमा पनि कोरोना भएको देखिएको छ । मन्त्रालयले शनिबार आजराति ९ बजेपछि विज्ञप्ती निकालेर ती महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो ।
९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएकी उनलाई घरपुगेको तीन दिनपछि ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।
ती महिलाको सेनाको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७, २१:१६