काठमाडौँ । बाँकेमा आज एकै दिन ४७ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालगञ्जको भरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
उनीहरु मध्ये ४६ जना पुरुष र १ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उनीहरु सबै बाँकेको नरैनापुर गाउँपालिकामा रहेका ४ वटा क्वारेन्टाइनमा बस्दै आएका थिए ।
अस्ति स्वाव सङ्कलन गरिएका २ सय ६३ जनामध्ये १ सय ९२ जनाको रिपोर्ट आउँदा ४७ जनामा कोरोना देखिएको र बाँकी ४७ जनाको रिपोर्ट आउन बाँकी रहेको बाँकेका पत्रकार जीएम यादवले जानकारी दिनुभयो ।
नरैनापुरमा रहेका १३ वटा क्वारेन्टाइनमा भारतका बिभिन्न स्ठानबाट आएका ७ सय ९२ जना बस्दै आएका छन् ।
आजै थप ६ जनामा पनि कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयाेगशालामा गरिएको जाँचमा मोरङका एकजना पुरुषमा कोरोना देखिएको छ ।
भैरहवाको प्रयोगशालामा गरिएको जाँचमा गुल्मीका एक ४१ वर्षका पुरुषमा पनि कोरोना भएको पुष्टि भएको छ ।
त्यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यी सबै गरी कोरोना सङ्क्रमितको हालसम्मको जम्मा सङ्ख्या ३ सय ५७ पुगेको छ । यी मध्येमा २ सय ९८ पुरुष र ५९ जना महिला रहेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७, १६:४०