काठमाडौँ । सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट आज पारित भएको छ ।
गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि पारित भएको हो ।
नीति तथा कार्यक्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएसँगै बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रमप्रति चित्त नबुझेको भन्दै दर्ता गराइएका संशोधन प्रस्तावहरू भने फिर्ता भएनन् । ध्वनि मतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको थियो ।
अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई उचित सम्बोधन गर्न नसकेको भन्ने गुनासोमा असहमति जनाउँदै कटाक्ष गर्नुभएको छ ।
प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै कोरोनाले ठूलोसानो मानिस नचिन्ने जवाफ दिनुभएको छ ।
मानिसको ज्यान बचाउने काम पहिलो प्राथमिकतामा रहेको भन्दै मानिस बचे भने फेरि पनि अर्थतन्त्रमाथि उठ्ने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले अध्ययन गरेर मात्रै कोरोनाविरुद्ध राहत प्याकेज ल्याउने जानकारी गराउनुभएको छ । बेरोजगारलाई रोजगारीको अवसर दिने र यो देशको अर्थतन्त्रको लागि पनि आवश्यक कदमहरु चाल्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको पनि बताउनुभयो । चीनको वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको तर भारतबाट आएको भाइरस कडा खालको देखिएको प्रधानमन्त्रीको भनाइ छ ।
पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको बताउँदै प्रधानमन्त्रीले यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको धारणा राख्नुभयो ।
कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताउदै प्रधानमन्त्री ओलीले अब भने थप क्षति हुन नदिन उच्च सर्तकता अपनाइएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लिम्पियाधुरा सहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको पनि बताउनुभएको छ । सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिनुभयो । प्रधानमन्त्री ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७, १८:०६