काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ ।
नेपाल बैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँग आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
चार दिनअघि सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोट भएको विषयमा ध्यानआकर्षण गराउन आएको टोलीसँग प्रधानमन्त्री ओलीले छलफल गर्नु भएको थियो ।
बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको प्रधानमन्त्रीको भनाइ थियो ।
“कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरूले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने,आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।”
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताउनुभयो । कम्युनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशील हुन सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेकोको उहाँको भनाइ थियो । अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५