ललितपुर । ललितपूरको गोदावरी नगरपालीकामा क्वारेन्टाइन नहुँदा कोरोना सङ्क्रमणको शङ्का गरिएका २ युवा रातभरि बारीमा बस्न बाध्य भएका छन् ।
तीन दिनअघि पोखराबाट आएका २ युवालाई घरभेटीले प्रवेश गर्न नदिएपछि युवाका आमाले आफ्नो छोरो बारीमै बसेको बताउनुभयो ।
ज्याला मजदुर गरी बस्ने एकल महिला भएकाले नगरपालीका, वडा कार्यालय, प्रहरी कसैले पनि आफ्नो कुरा नसुनेको उनको भनाइ छ । ‘कतैबाट सहयोग पाइन, अस्ति रातिभरि पानी पर्दा पनि छोराहरू बारीमा बसे ।’ ती युवाका आमाले भनिन् ।
‘हिजो दिनभरि दौडधुप गरेर एउटा हलमा राख्ने प्रयास गरेँ । तर नगरपालीकाले क्वारेन्टाइनको व्यवस्था गर्न सकेन ।’ ती महिलाले सीआईएनसँग भनिन् ।
तीन दिनअघि नै टेकुमा गएर स्वाव परीक्षणका लागि ती युवाले छोडेका थिए । रिपार्ट प्राप्त नभई घरभेटीले घरमा प्रवेश गर्न नदिने बताएका छन् ।
गोदावरी नगरपालीकाले किटिनी उच्च माध्यामिक बिद्यालयमा क्वारेन्टाईन बनाउने घोषणा गरेको भए पनि स्थानीयको विरोधका कारण बनाउन नसकेको नगरपालीकाले जनाएको छ ।
गोदावरी नगरपालीका जस्तै धेरै स्थानीय तहले व्यवस्थित क्वारेन्टाइन बनाउन सकेका छैनन् । बाहिरबाट नगर प्रवेश गर्नेहरूको संख्या भने बढ्दै गएको छ ।
काठमाडौँ उपत्यकामा मात्रै ३ दर्जन कोरोना सङ्क्रमित भेटिँदासमेत राजधानीमै भएका स्थानीय तहहरूले बढ्दो संक्रमणले निम्त्याउने विपत्तीको पूर्व तयारी गर्न सकेका छैनन् ।
सरसफाइयुक्त र व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय तहले पहल गर्नुपर्ने माग पनि बढेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७, १४:११