नोबल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित भइ उपचारार्थ भर्ना भएका गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु नभएको रुपन्देहीको क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।
गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्दै बिभिन्न सञ्चारमाध्यमले खबर सार्वजनिक गरेपछि अस्पतालले विज्ञप्ति निकालेर खण्डन गरेको हो ।
अस्पतालले उनको उपचार जारी रहेको तर मृत्यु नभएको स्पष्ट पारेको हो । मदाने गाउँपालिका पुर्कोट घर भएका ती पुरुष गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।
भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आइसीयूमा उनको उपचार भइरहको थियो । पेशाले शिक्षक रहेका उनको विद्यालयमा क्वारेन्टाइन भएकाले त्यहीँबाट सङ्क्रमण सरेको आशंका गरिएको छ ।
यसअघि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालले उपचारका क्रममा मृत्यु भएको भनेर जानकारी गराएको भन्दै सञ्चारमाध्यमलाई बताउनुभएको थियो ।
मन्त्री बरालको भनाइलाई आधार मान्दै सीआईएनले पनि समाचार प्रकाशन गरेको थियो ।
अस्पतालले फेरि उपचाररत व्यक्तिको मृत्यु नभएको विज्ञप्ति जारी गरेपछि मन्त्री बरालले आफूलाई गुमराहमा पारेको भन्दै अस्पतालको बारेमा अध्ययन गर्न प्रशासनलाई निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतहरुबीचको समन्वय अभावका कारण मन्त्री बरालको भनाइलाई आधार मानेर यसअघि प्रकाशित खबरबाट सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थि छौँ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७, १६:०८