काठमाडौँ । आजै थप २० जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टिभएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७ पुगेको छ ।
डडेलधुराको पराशुराम १० का २८ वर्षीय एक पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
बाँकेमा १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुष हुन् ।
उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका र बाँकी १३ जना नरैनापुरका बासिन्दा हुन् । मोरङको रतुवामाई २ का एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बाँकेका २१ जना कोरोना सङ्क्रमित निको भएपछि आज अस्पतालबाट घर फर्किएका छन् । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई आज डिस्चार्ज गरिएको हो ।
कोरोनालाई जितेर घर फर्किनेहरूमा जिल्लाकै पहिलो कोरोना सङ्क्रमित नेपालगञ्ज उपमहानगरपालिका ८ का ६० वर्षका धर्मगुरुसहित २१ जना रहेका छन् ।
आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर परिक्षणमा कोरोना नभएको आएपछि डिस्चार्ज गरिएको आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले सीआईएनलाई जानकारी दिनुभयो । बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
कोरोना हुँदैमा आत्तिनु नपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताउनुभयो । प्रदेश ५ मा यसअघि रुपन्देहीका पहिलो कोरोना सङ्क्रमित कोटहीमाइ गाउँपालिकाका २५ वर्षका युवक पनि निको भएर घर फर्किसकेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु आज अस्पताल घर गएका छन् ।
उनको दोस्रो पीपीआर रिपोर्टमा कोरोना नभएको पाइएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनको पहिलो पीसीआर रिपोर्टमा पनि कोरोना नभएको पाइएको थियो । तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो ।
अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको र डिस्चार्ज गर्न योग्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो । शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न अस्पतालले सुझाव दिएको छ । साथै क्वारेन्टाइनबाट घर जानुअघि पनि परीक्षण गर्न भनेको छ ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीय सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।
त्यसपछि नवजात शिशुसहित परिवारका सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो । परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ । उनीहरूलाई पनि आजै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७, १७:५६