काठमाडौँ । थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ । आज पुष्टि भएकामा अधिकांश बाँकेको नरैनापुरका बासिन्दा रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना सङ्क्रमित भेटिएको प्रवक्ता देवकोटाको भनाइ छ ।
नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको आज चार महिना पूरा भएको छ । १० माघ २०७६ मा चीनको वुहानबाट आएका विद्यार्थीमा पहिलो सङ्क्रमण फेला परेको थियो ।
मुलुकलाई लकडाउन अर्थात् बन्दाबन्दीमा राखेकै पनि दुई महिना पुगेको छ । बन्दाबन्दीका कारण मानिसहरूको जीवन थप अफ्ठेरो हुँदै गएको छ ।
देशमा कोरोना भाइरस सुरु भएको चार महिनामा देशमा तीनजना व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ । यो अवधिमा ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सरकारले पछिल्लो समय पीसीआर परीक्षण बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । ४२ हजारभन्दा धेरै व्यक्तिको पीसीआर परीक्षण भएको छ भने दु्रत अर्थात् आरडिटी परीक्षण भने ८२ हजारभन्दा बढीको गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७, १७:३६