काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२ नयाँ संक्रमित थपिएका हुन् । काठमाडौं सहित १० जिल्लामा सङ्क्रमित थपिए हुन । आज थपिएका सङ्क्रमित अहिले सम्मकै उच्च संख्यामा रहेको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषा, कपिलवस्तु, बारा, रौतहट र काठमाडौंका गरी ३७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा बाँकेका ४ र बर्दियाका एकगरी ५ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बारा गढीमाईका २१ जना, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकाका ५ जना र प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेख गुँरास गाउँपालिका ५ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी दिनुभयो । हालसम्म प्राप्त विवरण अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७, १०:५८