काठमाडौं ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेताले आफूहरु भूमीगत नभएको बताएका छन् । नेकपाका पोलिटव्युरो सदस्य जीवन्तले सरकारले भन्दैमा आफूहरु भूमीगत नहुने बताउनुभयो ।
आफ्नो वास्तविक नाम भन्न नचाहेका पोलिटव्युरो सदस्यले आफूलाई जीवन्त भनेर परिचय गराउन चाहे । क्रान्तिकारी शक्तिलाई सरकारले निस्तेज गर्न खोजेकाले आफूहरु पनि रणनीतिक रुपमा अगाडी बढ्ने छलफल भइरहेको ति नेताको भनाइ छ ।
आज बिहान सीआईएनसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हामी भूमीगत छैनौं, कुनैपनि हालतमा भूमीगत हुँदैनौं । एकीकृत ढंगलले अगाडी बढ्ने भनेका छौं ।’ उहाँले प्रश्न गर्नुभयो, ‘यिनीहरुले बनाउँदैमा भूमीगत हुनुपर्ने हो र ?’
पोलिटव्युरो सदस्य जीवन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले तपाईहरुलाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय ग¥यो नि ?
देशघातीहरुलाई प्रशय दिने अनि क्रान्तिकारी शक्तिलाईचाहिँ निस्तेज गर्ने योजना हो यो ।
तपाईहरुको गतिविधि हेर्दापनि त, राजनीतिक कम अलि विध्वङ्सात्मक गतिविधि बढि देखिन्छ नि त ?
हाम्रो यो राजनीतिक अभियानभित्रकै जन कारबाहीको एउटा श्रृखला हो । त्यसमा केही सिमा त होला । पार्टीको केन्द्रीय नीति अनुसारको कारबाही हो । अब चन्दाको सवालमा कुरा गर्नुहुन्छ भने, संसदीयवादी व्यवस्थाका राज्यका सम्पूर्ण साधन स्रोत लुट्नेहरुले जनतासँग करोडौं चन्दा उठाएर पार्टी चलाइराखेका छन् । अनि हामीलाई चाहिँ त्यो चार्ज लगाउनुको के अर्थ छ ?
यहाँ आफैं भन्नुहुन्छ, चन्दा स्वेच्छाले दिने हो । फेरि चन्दा नदिएको भनेर बम विस्फोट गराउने मान्छेको ज्यानै जानसक्नेसम्म घटना भइराखेका छन् । यि गतिविधि जनताको लागि हो भनेर कसरी भन्नसक्नुहुन्छ ?
चन्दा नदिएको आधारमा बम विस्फोट गराउनु भनेको षड्यन्त्र त्यही नै त हो । जब उसले राष्ट्रको साधन स्रोतमाथि दोहन गरेर राज्यलाई दोहन गर्छ, त्यसको विरुद्धमा जनकारबाही गर्ने घोषित रुपमै हामीले पहिल्यैदेखि गरिराखेका छौं र राज्यलाई पनि भनेका छौं ।
राज्यलाई कर तिर भनिराखेका छौं । त्यो मेनपावरको कुरा छ नि, मेनपावरको कुरा गर्ने हो भने त हजारौं युवाहरुलाई दैनिक शोषण गर्ने काम भइराखेको छ । वेरोजगार युवाले प्रतिरोध गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५