काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) कारण बालबालिकामा परेको असरको बारेमा अध्ययन गरि बालबालिकामैत्री राष्ट्रिय नीति बनाउने भएको छ ।
सरकारले विपतद्मा बालबालिकाको सुरक्षाको सुनिश्चित गर्ने गरी राष्ट्रिय नीति बनाउने र भएका नीतिलाई पनि संसोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बालबालिकाको नीति तयारै भएपनि बालबालिकाको निम्ति राष्ट्रिय रणनीति तयार पारि बजेट ल्याइने जानकारी दिनुभयो ।
सरकार र सेभ द चिल्ड्रेनको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले तयार पारेको ‘बालबालिकासँग मन्त्री’ कार्यक्रममा मन्त्री मन्त्री गुरुङले बालबालिकाको लागि राष्ट्रिय रणनीतिहरू तय गर्दा अब बालबालिकाहरुसँगै छलफल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘हिजो नीति निर्माता, विज्ञहरुलाई नै बालबालिकाका सवावलमा नीति बनाउने गरिन्थ्यो त्यो प्रक्रियाबाटमात्रै नीति बनाउनु गलत रहेछ ’ उहाँले भन्नुभयो,‘ यो कार्यक्रमबाट अब बालबालिकाका सवालमा नीति बनाउँदा म बालबालिकासँगै छलफल गर्नेछु । त्यसमा सीआईनले पनि सहयोग र समुन्वय गर्नेछ भन्ने विश्वास छ । ’
सीआईएनले गरेको बालबालिकासँग मन्त्री कार्यक्रममा देशभरका बालबालिकाले राखेको प्रश्नको जवाफ दिंदै मन्त्री गुरुङले बालबालिका ऐन २०७५ संशोधन गर्ने तयारी भएको र बालबालिकाका प्रश्नले सरकारलाई बालमैत्री नीतिका लागि बाटो देखाएको बताउनुभयो ।
कोरोना भाइरस जस्ता स्वास्थ्य अथवा जुनसुकै विपद्मा पनि बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने भएकाले सरकार नीतिगत रुपमा नै सम्वोधन गर्न प्रतिबद्धत रहेको बताउनुभयो ।
विपद्को बेला बालबालिका थप जोखिममा हुने भएकाले बालबालिका सम्बन्धि विपद् नीति ल्याउन समेत आफु प्रतिबद्ध रहेको उहाँको भनाई छ ।
कोरोना महामारीका कारण नियमित खोप लगाउन छुटेका बालबालिकाको विषयमा स्वास्थ्यमन्त्रीसँग तत्काल कुरागर्ने र आवश्यक निर्णय गर्ने मन्त्री गुरुङको भनाई छ ।
हिजो नीति निर्माता, विज्ञहरुलाई नै बालबालिकाका सवावलमा नीति बनाउने गरिन्थ्यो त्यो प्रक्रियाबाटमात्रै नीति बनाउनु गलत रहेछ । अब बालबालिकाका सवालमा नीति बनाउँदा म बालबालिकासँगै छलफल गर्नेछु ।
देशभरका बालबालिकाले विद्यालय बन्द हुँदा पढाइ प्रभावित भएको, विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएकाले मानसिक रुपमा तनाब सृजना भएको साथै लकडाउनको समयमा उत्पन्न समस्याहरुको बारेमा मन्त्रीसँग जिज्ञासा राखेका थिए ।
बालबालिकाहरुको प्रश्नमा जवाफ दिदै मन्त्री गुरुङले कोरोनाको महामारी सकिएपछि सबै कुरा ठिकठाक हुने भन्दै यो समयमा घरमा नै बसेर पढ्न र आफूभन्दा ठूला तथा अभिभावकसँग समय बिताउन आग्रह गर्नुभएको थियो ।
सरकारले उपयुक्त समयमा विद्यालय संचालन गर्ने र रोकिएका परिक्षाहरु संचालन गर्ने गरी तयारी गरिरहेको पनि मन्त्री गुरुङको भनाई छ ।
कोरोना भाईरस अर्थात् कोभिड–१९ का कारण बालबालिकालाई मनोवैज्ञानिक रुपमा समस्या नपरोस् भनेर मन्त्रालयले मनोविमर्शकर्ताहरुको व्यवस्था गरेको छ, मन्त्री गुरुङले भन्नुभयो ‘बालबालिकाले वा उनिहरुका अविभावकले फोन गरेर त्यस्तो सुविधा लिन सक्नेछन् ।’
साथै यस्तो बेला किशोरीहरु माथि मानसिक तथा शारीरिक हिंसा हुनसक्ने विषयमा समेत बालबालिकाले प्रश्न उठाएका थिए । जवाफमा मन्त्री गुरुङले त्यस्ता सम्भावनाको विषयमा मन्त्रालय जानकार रहेको र आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।
मन्त्री गुरुङलाई देशभरीका २० भन्दा बढी जिल्लाका बालबालिकाले प्रत्यक्ष रुपमा बालबालिका सवालहरु सुनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७, १३:४०