काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपियाँको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/ ७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको आकार घटेपनि आर्थिक बृद्धिको महत्वकाक्षि लक्ष्य लिइएको छ । बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । बजेटमा वित्तीय व्यवस्थानको लागि १ खर्ब ७२ अर्ब विनियोजन भएको छ ।सो बजेट पूर्तिका लागि राजस्वबाट ८ अर्ब ८९ करोड ६२ लाख, वैदेशिक सहयोगबाट वाट २ खर्व ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्व २५ अर्ब अनुमान गरिएको छ ।
बजेट निर्माणको क्रममा चर्को आलोचनामा परेको प्रत्यक्ष निर्वाचित सांसदले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । पूर्व पश्चिम लगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।
यस्तै सरकारले बाँकेको नेपालगन्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र आईसीपी निर्माण गर्ने भएको छ । सांसद विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । यस्तै पुनर्निर्माणको बजेट पनि ६६ अर्बले घटेको छ । यस बर्ष स्वास्थ्य क्षेत्रमा भने बजेट बढाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७, १९:३४