काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्था माथिको विश्वास पनि डगमगाउने बताउनुभयो ।
“जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ” प्रधानमन्त्रीले भन्नुभयो “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाउनु भएको छ । उहाँले अगाडी भन्नुभयो, “अवसरहरु सक्षम र गरिबलाई दिनुहोस्, आफ्ना छोराछोरीलाई होइन । निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन, मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।”
प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पार्नुभएको छ । “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेहरुले अहिले यसको विरोध गरेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । “लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् ।”
प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिती महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने पनि बताउनुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक विमोचन गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५, १९:१४