काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको क्वारेन्टाईनमा आज बिहान मृत्यु भएका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तीवारीले बताउनुभयो ।
उहाँले दुल्लु नगरपालिका–११ का ३५ वर्षका पुरुषको आज बिहान अकस्मात् मृत्यु भएको र उनमा कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गर्नुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक रुपमा पुष्टि गरिसकेको छैन ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार चार सय ६ पुगेको छ । पछिल्लो समय पर्सामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २४ घण्टामा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १४ सय नाघेको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा कपिलवस्तुमा सबैभन्दा धेरै १०९ जना संक्रमित थपिएका छन् । त्यस्तै, सर्लाहीमा १७, दैलेखमा १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६ र दाङ ५ जनामा कोरोना संक्रमण देखिएको छ । महोत्तरीमा ४, पर्सामा ७, संखुवासभामा २ तथा झापा, ललितपुर, र बारामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म २ सय १९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् ।
यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ पुगेको छ । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । साथै विभिन्न प्रदेशमा पिसीआर परिक्षणका क्रममा आवश्यक पर्ने भिटिएम पनि पठाईएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७, २०:०९