काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै संसोधनको बाटो खुलेको छ । लिम्पियाधुरासम्मको भूभाग समेटिएको नक्सा अनुसार देशको निसान छापमा परिमार्जन गर्न सरकारले दर्ता गराएको प्रस्ताव पारित हुने पक्का भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आयोजना गरेर संशोधनमा साथ दिन आग्रह गर्दा कांग्रेसेले आफ्नो पार्टीको बैठकसम्मको निम्ति समय माग गरेको थियो ।
जनता समाजवादी पार्टीले संशोधनबारे कुनै निर्णय गरेको छैन । जसपाभित्रको समाजवादी संसोधनको पक्षमा छ तर राजपाले आफ्ना मागहरू नसमेटिएको भन्दै विपक्षमा छ ।
यस्तो छ आज संसदको कार्यसूची
सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्नुहुनेछ ।
यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम सरकारले पछि हटाएको थियो ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुहुनेछ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७