काठमाडौं । कर्णाली प्रदेश जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रयोगशालाका संयोजक विवेककुमार पुनले जानकारी दिनुभयो ।
जुम्लाको हिमा गाउँपालिका वडा नं. एक, पाँच, ६ र सात नम्बर वडाका आठ जना र सिंजा गाउँपालिका वडा नम्बर तीन, चार, पाँच, र ६ का नौ जना पुरुष रहेका छन् । त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. दुइ, चार, पाँच र नौ का १७ पुरुष रहेका छन् । दैलेखकै दुल्लु नगरपालिका वडा नं. आठ र १२ का सात जना संक्रमित पुष्टि भएका छन् ।
तीमध्ये दुइ वर्षका बालक र दुइ जना महिला रहेको प्रयोगशाला संयोजक पुनको भनाइ छ । योसँग दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ भने कर्णाली प्रदेशभर एक सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
पूर्वी नवलपरासीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको कावासोती नगरपालिकाका दुई जना र विनय त्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिलाई जिल्ला अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेपछि एक जना युवकले आफैले एम्बुलेन्स चलाएर जिल्ला अस्पताल पु¥याएका छन् । विनयी त्रिवेणी गाउँपालिका तीनका १४ वर्षका बालकमा कोरोना संक्रमणको पुष्टी भएभछि आज बिहान जिल्ला अस्पताल डण्डा ल्याउनु पर्नेमा कुनै पनि एम्बुलेन्स चालकले नमानेपछि स्थानिय युवा आषिश जिसीले आफैले एम्बुलेन्स चालएर बालकलाई जिल्ला अस्पतालको आइशोलेशन कक्षमा भर्ना गराउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७