घरमै बसेर सङ्क्रमितको उपचार गर्नुपर्ने अवस्था आयो भने, हाम्रो जनशक्ती परिचालन गर्छौं ।
अस्पतालमा उपचारका लागि बेड भरिएपछि थपिएका संक्रमितलाई अब कसरी उपचार गर्ने ? सिंगो सरकार लागि समस्या खडा हुँदैछ । संक्रमणको गति र सरकारको तयारी बीच कतै पनि तालमेल देखिएको छैन । अब सरकार कसरी अगाडी बढ्छ ? राजन रुचालले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँग गर्नुभएको कुराकानी ।
तपाईहरु बन्दाबन्दीको स्वरुप परिवर्तन् गर्ने बारेमा छलफल गर्दैहुनुहुन्छ ?
हामी अहिले, तल्काल नै बन्दाबन्दी (लकडाउन) खोल्ने अवस्थामा त छैनौं । तर लकडाउनको यो परिवेशलाई अलि केही फरक ढंगले सोंच्नु पर्छ कि भनेर छलफल चलिरहेको छ । समय अनुसार अथवा ठाउँ विशेष अनुसार केही परिवर्तन गर्न सकिन्छ कि, भन्ने हो, तर हामी टुंगोमा पुगेका छैनौं । हाम्रो विज्ञ टोलीसँग छलफल चलिरहेको छ । केही न केही फेरबदल हुने सम्भावना छ ।
तपाईले भनेको बन्दाबन्दीको स्वरुप परिवर्तको कुरा चाँही २० गतेबाट हो अर्थात् बन्दाबन्दीको समय बढाएकाले ३२ गतेबाट हुने हो ?
यतिबेला तपाई मार्फत, सीआईएन सुनिरहनु भएका दाजुभाई तथा दीदिबहिनीलाई के भनौं भन्दा, अहिले नै यो हो भनेर हामी भन्ने अवस्थामा छैनौं । त्यो छलफल हुन्छ, अनि ३२ गते पछि पनि हुनसक्छ, २० गते पछि पनि हुनसक्छ । तर प्रयाप्त मात्रामा छलफल गरेर नागरिकलाई सबै कुराको सूचना दिएर मात्र हामी गर्ने तहमा छौं ।
अहिलेसम्मको अवस्था हेर्दा हामीले बन्दाबन्दी गर्यौं, तर परीक्षणको दायरा बढाउन सकेनौं, भनेर विज्ञहरुले पनि भनिरहेका छन्, र आम सर्वसाधारणको गुनासो पनि त्यही हो । तपाई स्वीकार्नुहुन्छ ?
नागरिको गुनासो हुनु स्वभाविक छ अथवा विज्ञ डाक्टरहरुको गुनासो हुनु स्वभाभिक छ । तर दिनरात सरकारको सम्पूर्ण शक्ति, कोरोनाका विरुद्धमा नै केन्द्रीत छ । हामी यो अभियानमा जुटेका छौं । अब तपाईले अर्को प्रश्न पनि सोध्नु होला, कि बढेको बढै छ भनेर । यो बढ्नुको कारण नेपालमै सबै देखा पर्ने भन्दा पनि तमाम नेपाली नागरिक हाम्रा दाजुभाईहरु भारतबाट आउने क्रम जब बढ्यो त्यसकारणले यसमा बृद्धि भएको छ । हामीले अहिले तमाम ठाउँमा पीसीआर लगाएतका टेष्ट गर्ने काम अगाडी बढाउँदा बढाउँदै घटनाक्रमहरु पनि त्यत्तिकै भएका छन् । खुल्ला सिमानाका कारण भारतबाट आउने नेपाली दाजुभाईका कारणले उतैबाट कोरोना संक्रमित भएर आएर हाम्रो देशमा यो संख्या बढेको छ । अहिले १ लाख २० हजार भन्दा बढी क्वारेन्टाइनमा बसीरहनु भएको छ त्यही हिसाबले हामीले सामाग्रीहरु पनि व्यवस्थापन गरिरहेका छौं ।
संसारभरी नै कोरोना सङ्क्रमण बढेको छ, नेपालमा पनि बढ्यो त्यसलाई हामीले अस्वभाविक रुपमा नलिउँ तर बढेको त्यो सङ्क्रमितको संख्यालाई आईसोलेसनमा राख्नको लागी हामीसँग प्रयाप्त आईसोलेसन बेड त छैन । जम्मा एक दुई सय मात्र बाँकी छ के हो त सरकारले गर्ने चाँही ?
तपाईले बढो महत्वपूर्ण कुरा उठाउनु भयो । अब अहिले विश्वका विकसित राष्ट्रका परिस्थिति बारे पनि तपाईहरु मिडियाका लगाएत सबै विज्ञहरु र नागरिकहरुलाई थाहा छ । हाम्रो परिवेश के होला, हामी कसरी जाने होला ? आइसोलेसन नहुँदा हामीले के गर्ने होला भन्ने कुरा कतिपय छिमेकी देशबाट पनि सिक्नुपर्छ । कतिपय विकसित राष्ट्रबाट पनि सिक्नुपर्छ ।
त्यो भनेको सङ्क्रमितहरुलाई घरमै क्वारेन्टाईन्मा राख्ने भन्ने हो ?
हो, अब विस्तारै सङ्क्रमितको सङ्ख्या बढ्दै गयो, ३/४ हजार पुग्दै गयो, अथवा ५/७ हजार पुग्दै गयो भने हामी त्यसो पनि गर्न सक्छौं । त्यसकारणले हामी अहिले स्वास्थ्य मन्त्रालयका विज्ञ साथीहरुसँग यो विषयमा दुई तीन दिन बिराएर निरन्तर छलफल गरिरहेका छौं । भोलि होम क्वारेन्टाईनमा बस्नु पर्ने अवस्था आउन सक्छ । घरमै स्वास्थ्यकर्मीले उपचार गर्ने व्यवस्था पनि हुनसक्छ । त्यस्को तयारी हामी गरिरहेका छौं ।
यदी हामीले भोलीको दिनमा घरमै राखेर कोरोना सङ्क्रमितको उपचार गर्नुपर्ने स्थिती आयो भने, त्यस्तो तयारी गरीराखेका छौं भने, सबै सङ्क्रमितको घर घरमा स्वास्थ्यकर्मी पुराउन सकिन्छ ?
स्वास्थ्यकर्मी त हामीले कतिपय ठाउँमा अहिले नयाँ भर्ना गर्ने काम पनि जारी राखेका छौं । नेपालको जनशक्ति जे खालको छ त्यसले गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं । हामीसँग अहिले अनुमान गरेको जति जनसङ्ख्या सङ्क्रमित हुँदा पनि, उपचार गर्न सक्ने क्षमतावान स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । अहिले नै हामी गर्न सक्दैनौं भन्ने भन्दा पनि हाम्रा संरचना र जनशक्तीलाई विश्वास गरौं । उस्तै पर्दा हामी स्थानीय तहलाई पनि त्यो जिम्मेवारी दिएर केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले त्यस्ता कामहरु अगाडी बढाउछौं । अभियानकै रुपमा हामी लागिरहेका छौं, लाग्छौं ।
कोरोनासँग सम्बन्धित रोगलाई नियन्त्रण गर्न, त्यसका विरुद्धमा लागिरहन अर्थमन्त्रीले त्यत्रो बजेटको प्रस्ताव गर्नु भएको छ । काम त अगाडी बढ्छ नी नेपाल सरकारलाई, स्वास्थ्य मन्त्रालयलाई विश्वास नगरेर गर्ने कस्लाई ?
कोभिडको उपचार गर्नका लागी भनेर छुट्टाईएको अस्पतालमै पुगेका, आईसोलेसनमा बसेका मान्छेहरु त, सेवा सुविधा पाएनौं भनिरहेका छन्, अब घरमै भएका मान्छेलाई व्यवस्थित तरिकाले राख्न सकिएला भनेर कसरी विश्वास गर्ने ?
म एउटा प्रतिनिधीका हिसाबले स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीका हिसाबले के भनौं त भन्दाखेरी हाम्रो प्रयत्नहरु भईरहेका छन् । घरमै बसेर सङ्क्रमितको उपचार गर्नुपर्ने अवस्था आयो भने, हाम्रो जनशक्ती परिचालन गर्छौं । संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार, त्यो अभियानमा छौं । केन्द्र सरकारको मात्रै बलबुुताले भ्याएन भने, हामी तीनै तहका सरकारहरु बीच समन्वय गरेर स्वास्थ्यकर्मी परिचालन गर्छौं । त्यो अभियानमा जुट्छौं ।
आइसोलेसनको कुरा गर्दा, १६ सय २४ जना भन्दा बढिलाई राख्न सक्ने क्षमता छैन । क्वारेन्टाइनमा १ लाखको हाराहारीमा मान्छे राख्यौं, त्यसलाई व्यवस्थापन गर्न नसकेर हाम्रो स्थिती कस्तो बनेको छ देखिएकै छ । क्वारेन्टाइन त झन् कोरोना सार्न जाने ठाउँ र मृत्यू हुने ठाउँ जस्तै बनेको छ । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयलाई कसरी विस्वास गर्ने नागरिकले ?
विश्वास त गर्न पर्यो नि । हामी हाम्रो अभियानमा जुटेका छौं १६ सयको ठाउँमा ३२ सय बनाउने कुरा गरेका छौं । अहिलेको बजेटले सम्बोधन पनि गरेको छ । कोरोनासँग सम्बन्धित रोगलाई नियन्त्रण गर्न, त्यसका विरुद्धमा लागिरहन अर्थमन्त्रीले त्यत्रो बजेटको प्रस्ताव गर्नु भएको छ । काम त अगाडी बढ्छ नी नेपाल सरकारलाई, स्वास्थ्य मन्त्रालयलाई विश्वास नगरेर गर्ने कस्लाई ?
अहिलेको अवस्थामा कोरोना धेरै फैलिनुमा, सङ्क्रमण धेरैमा देखिनुमा क्वारेन्टाइन व्यवस्थित नभएर हो भनेर विज्ञहरुले भनेका छन् । यो तथ्यलाई नकार्न मिल्छ ?
कस्ले के भन्छ भन्दा पनि, कतिपय सन्चो भएर पनि त गएका छन् नि । क्वारेन्टाइनबाट १४ दिन २१ दिन कटाएर हामीले उपचार गरेर निको बनाएर पठाएका पनि त छौं नि । त्यो पनि त तथ्य हो नि !
तर क्वारेन्टाइनहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको बनाउन तर्फ सरकारको ध्यान किन नपुगेको ?
हाम्रो ध्यान त्यतापट्टी पनि पुगेको छ । तपाईले उठाएका कतिपय विषयबस्तुहरु म यो क्वारेन्टाइटन अनुगमनको सदस्य पनि हो । मन्त्रीपरिषद्को निर्णयबाटै, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र मलाई तोकिएको छ । म दुरदराजमा गएर पनि आएँ । अनुगनमकै क्रममा काठमाडौं मात्रै होईन, चितवन पुगें । सल्यान, जाजरकोट पुगें । पहाडी जिल्लाहरुमा पनि गएको छु । तर डब्लुएचओको मापदण्ड अनुरुप अथवा स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुरुप नभए पनि जहाँ म गए त्यहाँ समस्या थिएन ।
आफु बच्नका निम्ति, अरुलाई बचाउनका निम्ति हामीले तय गरेका मापदण्डहरु आम रुपमा नेपाली नागरिकले, मेरो आदरणिय दाजुभाई तथा दिदीबहिनीहरुले पालना गरिदिन जरुरी छ । जति हामी पालना गर्छौ त्यति रोगको जोखिमबाट हामी पनि बच्छौं र अरुलाई पनि बचाउन सक्छौं ।
तर, क्वारेन्टाइनबाट मान्छेहरु सुविधा नपाएर, परिक्षण नभएर भागेको तथ्यहरु पनि त हाम्रो अगाडी छ नि छैन र ?
भाग्न त यस्तो बेला कहानी धेरै छन् । तपाईसँग कति कुरा भन्न मिल्छन् कति कुरा मिल्दैनन् । क्वारेन्टाइनमा बसिसकेका साथीहरुको कुरा हामीसँग पनि आउँछ । हामीले पनि त्यहाँ तलका समस्या बुझेका छौं । तर भन्दिन्छन्, के भने किन भोगेको भन्दा क्वारेन्टीनमा सबै व्यवस्था भएन । भन्न सजिलो छ, त्यसकारण यो विषयबस्तु पनि हामीले अध्ययन गरेका छौं । तर यति हुँदाहुँदै पनि क्वारेन्टाइनको जति व्यवस्था गर्नुपथ्र्यो । हामीले स्थानिय तहलाई जिम्मेवारी दिएका छौं । यो यो मापदण्ड अनुरुप काम गर्नु होला भनेर, एउटा कागजै दिएका छौं । त्यो अनुसार अलि नभएको पनि होला । तर पनि हाम्रो क्षमताले हाम्रो श्रोत साधनले भ्याएसम्म गरेका छौं । स्थानीय तहका साथीहरुले जे गर्नुभाछ, एकदम स्रहानिय काम गर्नुभाछ भन्ने कुरा हो मेरो ।
विज्ञहरुले चाँही असारमा र साउनमा धेरै बढ्न सक्छ, धेरै मान्छेहरु सङ्क्रमित हुन सक्छन भनेका छन् । त्यस्तो अवस्थामा तयारी र मान्छेहरुलाई सङ्क्रमणबाट जोगाउने उपाय के गर्दैहुनुहुन्छ ?
पहिलो कुरा त जोगाउने उपाए हामी गर्दैछौं । तपाइले उठाएका कुरा पनि हो, विज्ञहरुले भनेका कुरा पनि हो र हामीले अनुमान गरेका कुरा पनि हो । भारतबाट आउने नागरिक ५, ६ लाख नेपाल आउन सक्छन् । तेस्रो मुलुकबाट पनि नेपाल सरकारले केही नागरिक ल्याउने कुरा भाछ, तपाईले थाहा पाइसक्नु भाछ । त्यसकारण यहाँ बढ्दै बढ्दैनन् भन्ने होइन । हाम्रो अनुमान पनि बढ्छ भन्ने नै हो । सकेसम्म स्वास्थ्य मन्त्रालय, नेपाल सरकारले रोकथाम कसरी गर्ने भन्ने तिर लाग्ने हो । बढी हाल्यो भने हामीले स्वास्थ्य सामाग्रीदेखि लिएर तपाइले भने जस्तै आइसोलेसन देखि लिएर स्वास्थ्यकर्मी पनि सुरक्षीत हुने, जनतालाई कसरी सुरक्षा दिन सकिन्छ त्यसमा खट्ने हो । त्यसपछि स्थानिय तहका जनप्रतिनिधी, केन्द्र सरकारका जनप्रतिनिधी, प्रदेश सरकारका प्रतिनिधीहरुले अभियानका कुराहरु सन्चालन गर्ने हो । विशेष गरि म फेरी पनि भन्छु, आफु बच्नका निम्ति, अरुलाई बचाउँनका निम्ति हामीले तय गरेका मापदण्डहरु आम रुपमा नेपाली नागरिकले, मेरो आदरणिय दाजुभाई तथा दिदीबहिनीहरुले पालना गरिदिन जरुरी छ । जति हामी पालना गर्छौ त्यति रोगको जोखिमबाट हामी पनि बच्छौं र अरुलाई पनि बचाउन सक्छौं ।
यसको मतलव तपाईहरुले कति जति सङ्क्रमितको परिक्षण गर्नुहुन्छ ?
प्रधानमन्त्री ज्यूले नै हामीलाई आदेश गर्नुभाछ, ६ लाख परीक्षण गर्नुप¥यो भनेर । अब त्यो सङ्ख्या बृद्धि पनि हुन सक्छ रोगको अवस्था के हुन्छ, परिस्थिति के हुन्छ, क्वारेन्टाइनमा कति मान्छे बस्छन् । बाहिरबाट आउने नेपालीको चाप कति बढ्छ । त्यसले निर्धारण गर्ने अवस्था हो नि ।
हामीसँग स्वास्थ्य सामाग्री प्रयाप्त हुन्छ त्यसरी ६ लाख बढिको परिक्षण गर्न ?
प्रयाप्त हुन्छ भन्दा पनि मैले अघि नै भनिसके नेपाल सरकारको सम्पूर्ण शक्ति यसैमा छ । स्वास्थ्य मन्त्रालयले खरिद गरेको छ । सरकारले नेपाली सेना मार्फत छुट्टै खरिद पनि गरेको छ । कतिपय सहयोगबाट आछ । अब स्वास्थ्य सामाग्री त खरिद गर्दै जाने हो नि । हामी त्यो प्रकृयामा अगाडी बढेकै छौं तर सामाग्री पठाकै छौं । हाम्रो सम्पूर्ण ध्यान र शक्ति कोरोनामै केन्द्रीत गरेका छौं ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७, १२:२६