ताप्लेजुङ ।
नेपालको प्रमुख निकासीजन्य नगदेबाली अलैंचीको व्यापार ठप्प भएको छ । भारतको बाटो हुँदै तेस्रो मुलुक पुग्ने अलैंची दुई महिनादेखि गोदाममा थन्किएको छ ।
बिक्री ठप्प भएपछि अलैंचीमा आश्रित ४५ जिल्लाका कृषक र व्यवसायीलाई मात्रै होइन, मुलुककै अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ ।
कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारी विपरित भारतको पश्चिम बङ्गाल सरकारले अलैंची रोकेको हो ।
नेपालमा लकडाउन सुरु भएपछि पश्चिम बङ्गालस्थित पानीट्याङ्की भन्सारले अलैंची भित्रन दिएको छैन ।
काकडभिट्टा नाकाबाट खाद्यान्न लगायतका सामान नेपालमा निर्वाध आइरहेका छन् । नेपालका व्यवसायी तिनै ढुवानीका साधनमा अलैंची पठाउन चाहन्छन् ।
तर, निर्यात हुन नसकेको अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।
कार्कीले भन्नुभयो, ‘नेपाल सरकारले पनि कृषिजन्य चिजहरुलाई आवातजावतमा छुट गरेको छ र इन्डियाबाट उसको सामानहरु पनि हाम्रो नेपालमा आइरहेको अवस्थामा हामीले पनि हाम्रो अलैंचीलाई विगतजस्तै काकडभिट्टा भन्सारबाट पश्चिमबंगाल हुँदै विभिन्न भारतका बजारहरुमा पुर्याउने भनेर हामीले तयारी गरेको । तर अहिले बिना कारण पश्चिमबंगाल सरकारले रोकेको छ । हामीले के कारण हो भन्दा उनीहरुले कारण दिन सकेका छैनन् ।’
गत सिजनमा उत्पादित १५ प्रतिशत अलैंची किसानसँग र ४० प्रतिशत व्यसायीसँग छ । साउनदेखि नयाँ उत्पादन सुरु हुने भएकाले किसान र व्यवसायीले आफ्नो गोदाम रित्याउने समय यही हो ।
लकडाउन सुरु हुनुअघि झापा विर्तामोडमा प्रतिमन (४० किलो) को २८ हजार रुपैयाँ मूलय थियो । अब झन घट्ने भयमा कृषक छन् ।
ताप्लेजुङका कृषक उदय लिम्बु २/४ वर्षकै अलैंची रहिराखेको बताउनुहुन्छ । उहाँका अनुसार साहुले लगिसकेपनि भाउ काट्न बाँकी छ । भाउ पर्खिदा पर्खिदै किसानले निकै समस्या भोग्नु परेको उहाँको भनाइ छ ।
राम्रो बजार पाएपछि कृषकले खेतबारी मासेर अलैंची लगाए । एकाध वर्ष १ लाख रुपैयाँ प्रतिमनसम्ममा बिक्री पनि गरे । तर, पछिल्लो पाँच वर्षयता मूल्य पनि निरन्तर ओरालो लागिरहेको छ । बजार पनि अनिश्चित बनेको छ ।
सरकारले मध्यस्थता गरेर अवरोध खुलाउन सहयोग गर्नुपर्ने उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपाल बताउनुहुन्छ ।
आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ७ सय मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सारको तथ्याङ्कमा उल्लेख छ । नेपालको अलैंची काकडभिट्टा नाकाबाट कलकत्ता हुँदै तेस्रो मुलुक जाने गरेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७, ०६:२४