काठमाडौं । संसदमा गर्भवती र सुत्केरी महिलाका सवालमा बहस भएको छ । राष्ट्रिय सभा सदस्यहरुले लकडाउनको अवधिका सुत्केरी र गर्भवती महिलाहरुको सवाल छायामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बिहान सामुदायिक सूचना नेटवर्क (सीआईएन)को कार्यक्रममा जीवनरक्षामा गर्भवती र सुत्केरी महिलाको सवालमा भएको छलफल पछि दिउँसो राष्ट्रियसभाको बैठकमा सदस्यहरुले ध्यानाकर्षण गराएका हुन ।
सांसद दिलकुमारी थापा रावलले लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गरानुभयो । बिहान कार्यक्रममा उहाँले गर्भवती र सुत्केरी महिलाको सवालमा गरिएको रेडियो छलफलबाट आफ्नो ध्यानआकर्षण भएको र दिउँसो संसदमा कुरा राख्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
‘यो गम्भिर विषयमा सीआईएनले मसँग छलफलको गरेकोमा धन्यवाद’ कार्यक्रममा उहाँले भन्नु भएको थियो, ‘ म आजै राष्ट्रियसभामा यो विषयमा कुरा उठाउने छु । ’ सुत्केरी र गर्भवती महिलाहरुको क्वारेन्टाइनमै मृत्यु भएको विषयमा सरकारले सत्यतथ्य सदनमा जानकारी गराउन पनि उहाँले माग गर्नुभयो ।
स्वास्थ्य संस्थामा गर्भवती महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न कठिन भएको भन्दै त्यसको उचित व्यवस्थापा मिलाउन पनि उहाँले माग गर्नुभयो ।
सांसद विमला राई पौडेलले गर्भवती र सुत्केरी महिलाहरुको ज्यान गइरहेको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो । हिजो जनचेतनाको अभावमा ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको उहाँले बताउनुभयो । सोमबार उहाँसँग पनि सीआईएनले गर्भवती र सुत्केरी महिलाको सवालमा छलफल गरेको थियो ।
लकडाउनमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाले सबैभन्दा अप्ठयारोमा गर्भवती र सुत्केरी परेको उहाँले बताउनुभयो ।
राष्ट्रियसभाले नै गर्भवती र सुत्केरी महिलाको सवालमा ध्यानआकर्षण भएको बताएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सांसदले उठाएको गर्भवती र सुत्केरी महिलाको सवालमा राष्ट्रियसभा गम्भिर भएको र सरकारको जवाफ माग्ने सीआईएनलाई बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७, १७:०४