काठमाडौं । ८१ दिन कठोर लकडाउन गरेको सरकारले आजदेखि खुकुलो बनाएको छ । आजदेखि नै सुरक्षा अपनाएर ब्यापार व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । निजी सवारी साधन पनि चल्ने भएका छन्।
असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने र आजदेखि नै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै पहिलोको २१ दिनमा २१ सेवा तथा कार्य खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पहिलो २१ दिन, त्यसको स्थिति हेरी १५ र फेरि अर्को १५ दिनको लकडाउन खुकुलो बनाउने भएको छ ।
रिक्सा तथा एक लहरमा एक जना यात्रुमात्र बस्ने गरी विद्युतीय रिक्सा, ट्याक्सीमा चालकबाहेक थप दुई जना यात्रु रहने गरी चल्न दिने तयारी छ । व्यक्ति व्यक्तिबीचमा कम्तीमा २ मिटर भौतिक दूरी कायम रहने गरी रेस्टुरेन्ट तथा खाजाघर खोल्न दिने प्रस्तावमा छ ।
खुला हुने सेवा तथा कार्यहरुः
स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक
औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा,
मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी,
पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण,
फोहोरमैला व्यवस्थापन,
विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,
बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा,
सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य,
कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य,
उत्पादनशील उद्योग,
निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय,
विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत),
निर्माण कार्य (निजी समेत),
नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण,
रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा,
क्वारेन्टिनका लागि तोकिएका होटल,
बिजुलीका सामान बिक्री र मर्मत,
विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप,
पुस्तक पसल तथा स्टेशनरी,
सबैप्रकारका ढुवानी सेवा,
अत्यावश्यक सेवाका सबै कार्यालय,
अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७, ०७:०३