केहि दिनयता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।
कोरोनाको नाममा १० अर्ब खर्च भएको, स्वास्थ्य मन्त्रालयले विज्ञको सुझावबिपरित रोग पत्ता लगाउन उपयोगी नहुने आरडीटी किटको ब्यापक दुरुपयोग गरेको तथा केही मन्त्रीको कारण कोरोना नियन्त्रण एवं आर्थिक सुशासन कायम नभएको, क्वारेन्टाइन रोग सार्ने केन्द्र बनेको, स्वास्थ्य मन्त्रीले एकपटक पनि सीमावर्ती क्षेत्रका क्वारेन्टाइन अवलोकन एवं अनुगमन नगरेको, जनतालाई ठोस राहत तथा सामाजिक सुरक्षाको योजना नल्याएको लगायत धेरै विषयमा हामी सबै असन्तुष्ट छौँ ।
महामारीको बेलामा नेपाल जस्तो गरिब देशले आर्थिक मितव्ययिता गर्ने, खर्च ब्यापक कटौती गर्ने तथा स्वयंसेवक भएर देशको लागि योगदान गर्ने बेलामा केही व्यक्तिको आर्थिक हालीमुहाली अक्षम्य छ ।
अहिले कोरोना सङ्क्रमणको महामारी चलेको छ । यो समयमा निम्न लिखित कुरामा हामीले ध्यान दिएनौं भने महामारी झनै बढ्ने खतरा रहन्छः
- भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौँ मजदुरले प्रदर्शन गरेका थिए । अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा सङ्क्रमितको सङ्ख्या ९७६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ ।
जब की चीनमा सङ्क्रमितको सङ्ख्या ८३०५७ छ । महाराष्ट्रमा हिजोमात्र ३२५४ जना सङ्क्रमित भए भने १४९ जनाको मृत्यु भयो । त्यस्तै दिल्लीमा जुलाईको अन्त्यसम्म ५ लाख सङ्क्रमित पुग्न सक्ने त्यहाँका मुख्यमन्त्रीले भनेका छन् ।
- स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै सङ्क्रमित भएको र त्यसको केही हप्तापछि आफन्तले शव हेर्नसमेत नपाएको अवस्था आएको थियो ।
- ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौँ सङ्क्रमित भएको बताइएको छ । ब्राजिलले सङ्क्रमितको सङ्ख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ ।
- जुलुसमा सामाजिक दुरी कायम नहुने, मास्कको प्रयोग सही तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने, स्यानिटाइजर प्रयोग नहुने भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ ।
- अध्ययनले देखाएको छ कि विरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा सङ्क्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना सङ्क्रमित हुने सम्भावना धेरै हुन्छ ।
- त्यहाँ हामी युवा सङ्क्रमित भएमा हाम्रो घरमा रहनुभएका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरीलगायतलाई सङ्क्रमण सरेर जोखिम धेरै बढ्छ ।
- सहरी क्षेत्रमा लाखौँ जनाको बसाइ हुने तथा ठूलो समूहमा सङ्क्रमण सर्यो भने सङ्क्रमण अनियन्त्रित भएर हाम्रा अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ ।
- यो महामारीको समयमा गर्ने विरोधको स्वरूप परिवर्तन गरेमा हामी सुरक्षित हुनेछौँ ।
सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामूहिक विरोध हुँदा बिगतमा धेरै मन्त्रीले राजीनामा दिन बाध्य भएको हामीलाई अवगत नै छ ।
- सरकारले आर्थिक अनुशाशन, पारदर्शिता, मितव्यिता तथा जवाफदेहितालाई आफ्नो कर्तब्य ठानेर जनताका हरेक सरोकारलाई इमान्दरपूर्वक व्यवहारमा देखाउन सक्नु पर्दछ ।
कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहिलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी छ ।
- यो विषम परिस्थितिमा सरकार, आम जनता तथा मिडिया एकताबद्ध भएर महामारीसँग जुध्नुको विकल्प छैन । देशव्यापी भएको यो प्रदर्शन सरकारले समयमै सुनेर जनता विश्वस्त हुने गरी सम्वोधन गरोस् ।
सरकारले सबै नागरिकको अभिभावक भएको कर्तव्य पालना गरोस् | त्यसो भएमा आम नागरिकको असन्तुष्टि निराकरण हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७, १०:००