काठमाडौँ । नेपाल भारत सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको हतियार खोस्न खोजेपछि भएको झडपमा गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक सङ्ग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज बिहानै झडप भएको थियो ।
नेपालमा समेत व्यापार गर्दै आएका केही भारतीय नागरिक बिहानै नेपाल प्रवेश गर्न खोजेका थिए ।
सीमामा रहेका सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरु भारततिरै फर्किएका थिए । तर केही बेरमा करिब १ सयको सङ्ख्यामा आएका भारतीय नागरिक र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
त्यसक्रममा प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर मृत्यु भएका भारतीय नागरिकको पहिचान हुनसकेको छैन ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले झडपमा २ भारतीय र ३ सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभयो ।
प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन राम भने पक्राउ परेका छन् । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्रले १० राउण्ड हवाई फायर गरेको थियो । घटनापछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७