काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी मतले पास भएको छ । प्रतिनिधिसभामा उपस्थित सबै दुई सय ५८ सांसदले प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभाका कुल दुई सय ७५ सांसदमध्ये दुई सय ५८ जनाले दस्तखत गरेको संसद् सचिवालयले बताएको छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा चारजना सांसद निलम्बनमा छन् । बाँकी १२ जना सांसदले हस्ताक्षर गरेनन । विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी र प्रमोद शाह रहेका छन् ।
यस्तै शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्यालले पनि मतदान गर्न नपाएको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । अनुपस्थित रहेका सांसदमध्ये धेरैले बिरामी भएर आफू आउन नसकेको बताएका छन् ।
नेकपा सांसद हरिबोल गजुरेलले बाथरुममा लडेर यताउता हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको जान नसकेो बताउनुभयो ।
समाजवादीका सांसद सूर्यनारायण यादव अचानक गृहजिल्ला सप्तरी जानु भएको छ ।
राजपा सांसद प्रमोद साहले पनि बिरामी परेकाले जिल्लातिर आराम गरिरहेको बताउनुभयो । नेकपा सांसद गोपालबहादुर बम पनि बिरामी हुनुहुन्छ ।
कांग्रेस सांसद सूर्यबहादुर केसी पोखरामै बसिरहनु भएको छ । संसद बैठकमा भाग लिन आउनु भएन ।
कांग्रेस सांसद नागेन्द्र कुमार पनि बिरामी भएर सदन जान सकेनन् ।
राजपा सांसद अमृतादेवी अग्रहरि संसद् बैठकमा जानु भएको थियो । तर पखाला लागेको भन्दै हस्ताक्षर गर्नुअगाडी नै बैठक छाडेर बाहिरिनुभयो ।
समाजवादीकी सांसद सरिता गिरी संसद्मा उपस्थित हुनुहुन्थ्यो । तर प्रक्रियाप्रति असन्तुष्टि जनाएर बाहिर निस्किनुभयो । उहाँले आफ्नो विमतिको प्रस्ताव राख्न खोज्नुभएको थियो । तर पाउनु भएन ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७, ०७:११