काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको विधेकयक अब राष्ट्रिय सभामा गएको छ । प्रतिनिधिसभाले हिजो उक्त विधेयक पारित भएको सन्देश राष्ट्रियसभामा पठाएको छ । राष्ट्रिय सभामा उक्त विधेयकमाथिको कारबाही आजबाट सुरु हुनेभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकको सम्भावित कार्यसूचीमा ’राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सभा समक्ष टेबुल’ गर्ने रहेको छ ।
संघीय संसदमा सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि आज नै सैद्धान्तिक छलफल गर्न तयारी भइरहेको छ । त्यसपछि संशोधनका लागि ७२ घण्टाको म्याद हुन्छ ।
संशोधनको समय सकिएपछि प्रतिनिधिसभामा भएकोजस्तै राष्ट्रिय सभा बैठकमा दफावार छलफल गरेर पारित गर्ने प्रक्रिया हुन्छ ।
राष्ट्रिय सभाले संशोधन विधेयक पारित भएको सन्देश प्रतिनिधिसभालाई पठाउनेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने ब्यवस्था छ ।
राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेपछि संशोधन कार्यान्वयनमा आउछ । त्यसपछि नेपालको निसान छापमा नयाँ नक्सा राखेर कामकाजमा आउनेछ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७, ०८:१८