काठमाडौँ । jविपद्को समयमा स्थानीय सरकारलाई पनि साथ लिएर ‘एकले अर्कोलाई सहयोग गर्नुपर्छ’ भन्ने उद्देश्यका साथ पोखराको थ्रि एन्जल्स सामुदायिक रेडियोले सञ्चालन गरिरहेको कार्यक्रम प्रभावकारी बनेको छ । ‘कोरोना विपद्मा रेडियोको पहल’ नाम रेडियोको कार्यक्रम धेरै मानिसको सहारा बनेको हो ।
रेडियोमा टेलिफोनमार्फत आएका समस्यामध्ये अधिकांश समस्या उपभोग्य वस्तुसँग सम्बन्धित हुने गरेका छन् । “खाद्यान्नको समस्या टार्न कठिनाइ परेकाहरूले रेडियोमार्फत समस्या व्यक्त गर्नुहुन्छ, र ती समस्या रेडियोकै स्रोताले समाधान गरिदिने गर्नुभएको छ” रेडियोका म्यानेजर सिलास केसीले भन्नुभयो ।
लकडाउन जारी भएको २५ औँ दिनबाट सुरु गरिएको उक्त कार्यक्रममा डेढ घण्टाको अवधिमा दैनिक ३५ जना भन्दा बढी स्रोेताहरूको सहभागिता रहने गरेको रेडियोका कार्यक्रम म्यानेजर एवं समाचार प्रमुख जीवन सुवेदीले बताउनुभयो ।
“हामीले हरेक दिन विहान ७ः३० देखि ९ः०० बजेभित्र टेलिफोनमार्फत आएका समस्यालाई जतिसक्यो तत्कालै सम्बोधन गर्ने प्रयास गरेका छौँ, आफूलाई परेको समस्या सुनाएपछि तत्काल समस्या समाधान हुँदा स्रोताले पनि रेडियोको महत्व बुझेको अनुभव गरेका छौँ” सुवेदीले थप्नुभयो ।
रेडियोमा समस्या सुनाएपछि सहयोगी एवं दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाउने गरेका छन् । रेडियोमा समस्या सुन्दा निकै दुख लाग्ने गरेकाले आफूहरूले सहयोग गर्न चाहेको उनीहरूले बताउने गरेका छन् ।
समस्या सुनिसकेपछि समाधानका लागि अहिलेसम्म बगरका मनी गुरुङ, सराङ्कोटका निलबहादुर थापा, चाउथेका प्रेमबहादुर थापा, थ्रि एन्जल्स नेपालका विभिन्न पदाधिकारीहरु, पोखरा १० का नर्बु योल्मो, रामघाटकी शारदा गौतम, नयागाउँ चर्चका लाजरस हितैसी, छोरेपाटनका कमल कार्कीले सहयोग गरिसक्नुभएको छ ।
चरक मेमोरियल अस्पतालका डा बद्री पौडेल, पोखरा २३ बाम्दीका रिखिबहादुर राना, रुपा गाउँ पालिका अध्यक्ष नबराज ओझा, महेन्द्रपुलका विपि ढुंगाना, विरौटाका प्रेम थापा, व्यवसायी यूवराज खतिवडा, पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल, महानगरका उपमेयर मन्जुदेवि गुरुङ लगायतले पनि यस अभियानमा साथ दिनुभएको छ ।
साथै आफ्नो नाम सार्वजनिक गर्न नचाहने दाताहरुले पनि सहयोग प्रदान गर्दै आएका छन् ।
रेडियोकै पहलमा अहिलेसम्म प्रत्यक्ष रूपमा करिब तीन सयजनाको परिवार र अप्रत्यक्ष रूपमा हजारौँ व्यक्तिले खाद्यान्न, ग्यास, निशुल्क कोठा, निशुल्क यातायात, निशुल्क औषधिलगायत सहयोग प्राप्त गरेको रेडियो व्यवस्थापन समितिका अध्यक्ष डा. मदन थापाले बताउनुभयो ।
अहिलेको विषम परिस्थितिमा रेडियोले गरेको यस कार्यक्रमको पशंसा भइरहेको उहाँले बताउनुभयो ।
मानव बेचविखनविरुद्ध क्रियाशील थ्रि एन्जल्स नेपालका कार्यक्रमहरु रोकथाम, उद्धार र पुनस्थापनामध्ये समुदायस्तरमा जनचेता जगाउनका निम्ति रोकथाम कार्य अन्तर्गत रेडियोले विभिन्न चेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ ।
कोरोना विपदको यस दुखद अवस्थामा रेडियोले हरेक नेपालीको मनमनमा बस्न सक्नेगरी काम गरेको र आगामी दिनमा टेलिभिजनमार्फत पनि आम जनसमुदायको सेवा गर्ने योजना रहेको थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष तथा सीईओ डा. राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
अब वैदेशिक रोजगारीमा पुगेर स्वदेश फर्किन नपाएका व्यक्तिलाई स्वदेश फर्काउन सहजीकरण गर्ने कार्यक्रम सञ्चालनको योजना गरिएको उहाँको भनाइ छ ।
कोरोनाकै महामारीका बीच यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे विज्ञहरूको परामर्श, मनोविमर्शकर्तासँगको कुराकानी, भेदभाव तथा वर्तमान समयमा मानव बेचविखन रोकथामका लागि पनि रेडियोले विशेश कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न गत चैत्र ११ गतेदेखि मुलुकभर सरकारले बन्दाबन्दी अर्थात लकडाउनको आदेश जारी गरेको छ ।
लकडाउनको असरले अहिले दैनिक ज्यालादारी मजदुरी गर्नेहरू एवं विपन्न वर्गका व्यक्तिहरू समस्यामा परेका छन् ।
स्थानीय सरकारले वितरण गरेको राहत पनि सकिएपछि चुल्हो बाल्न कठिन भएकाहरुका लागि पोखराको नयाँगाउमा रहेको थ्रिएन्जल्स रेडियोले अभियान नै सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७, ०९:२४