काठमाडौं । भारत र चीनका सेनाबीच लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ । १५ जना अझै हराइरहेका छन । चीनततर्फको क्षति खुलेन छैन ।
तर भारतीय सञ्चार माध्यमले ४३ जना वेपत्ता रहेका र ती मध्ये केहीको मृत्यु भएको दावी गरेर खबर लेखेका छन । मंगलबार साँझसम्म भारतीय पक्षले एक कर्णेलसहित तीनजनाको निधन भएको बताएको थियो ।
तर, राति ११ बजे भारतीय रक्षा मन्त्रालयले २० जना सैनिक मारिएको पुष्टि गरेको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ ।
दुवै देशको एक अर्कालाई आरोप
चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिक चिनियाँ इलाकामा जबर्जस्ती प्रवेश गरेका कारण झडप भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारतीय सेनालाई संयमित राख्न र एकतर्फी रूपमा जबर्जस्ती चिनियाँ भूभागमा प्रवेश गर्न नदिन भारत सरकारलाई आग्रह गरेका छन् ।
भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।
चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।
सन् १९६२ मा भारत र चीनबीच सीमायुद्ध भएको थियो । सो युद्ध विराम भएको पाँच वर्षपछि सन् १९६७ को जुन ११ मा सिक्किमको नाथुला सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान भएको थियो । भिडन्तमा ८० जना भारतीय सैनिकको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी चिनियाँ सैनिक मारिएको भारतीय दाबी थियो ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७, ०६:३३