विशाल सैन्य क्षमता र आणविक हतियारका साथै ठूलो जनसङ्ख्या रहेका भारत र चीनबीच पछिल्ला केही हप्तादेखि हिमाली क्षेत्रमा समस्या उत्पन्न भएको छ।
मङ्गलवार यो सङ्कट चुलियो। बन्दुक प्रयोग नगरिएको भिडन्तमा भारतीय सेनाले २० भारतीय सैनिकको ज्यान गएको बताएको छ।
भारतीय सञ्चारमाध्यमले चिनियाँ पक्षका ४३ जनालाई घाइते बनाइएको समाचार प्रकाशन गरेका छन्। चीनले मृत्यु र घाइते भएकाहरुको सङ्ख्या पुष्टि गरिसकेको छैन।
बीबीसी विश्व सेवाका पत्रकार स्वामीनाथन नटराजनले लेखे अनुसार एशियाका दुई ठूला राष्ट्रबीच सीमा क्षेत्रमा भएको विवादका कारण पछिल्लो चार दशकमा मानवीय क्षति हुने गरी भएको यो पहिलो घटना हो।
तनावपूर्ण स्थितिको सिर्जना
मङ्गलवारको झडप लद्दाखस्थित गलवान क्षेत्रमा दुई देशबीचको लाइन अफ एक्चुअल कन्ट्रोलमा भएको हो। यो विवादास्पद कश्मीर क्षेत्रमा पर्छ जहाँ व्यापक रूपमा सेना परिचालन गरिएको छ।
भारत, पाकिस्तान र चीनको उक्त भूभागबारे आआफ्नै किसिमका दाबीका कारण उक्त क्षेत्रमा तनाव भइरहन्छ।
गलवान क्षेत्रमा भारतीय र चिनियाँ गस्ती टोलीबीच धेरै घटनाहरू भएका छन्। गत एप्रिल महिनादेखि गलवान उपत्यकानजिकै दुवै पक्षले हतियार र सैनिकको सङ्ख्या बढाएका छन्।
त्यहाँ परिचालित सैनिकलाई हेलिकप्टर र लडाकु विमानहरूले बल दिएका छन्। मे महिनाको सुरुमा भारतले आफ्नो दाबी गर्दै आएको भूमिमा चिनियाँ फौजले टेन्ट गाड्ने, खाल्डो खन्ने र निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन प्रयोग गरेसँगै तनाव बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतले सन् २००८ बाट उच्च हिमाली भेगमा पुनः सञ्चालनमा ल्याएको हवाई शिविरसम्म पुग्नका लागि सयौँ किलोमिटर लामो सडक निर्माण गरेसँगै चीनले त्यस्तो कदम चालेको हो।
पछिल्लो घटनाक्रमका लागि भने भारतले चीनलाई दोष दिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लीजीयनले भारतले सीमा पार गरेको र चीनको सेनालाई उत्तेजित पार्नुका साथै आक्रमण गरेको बताएका छन्।
विवादको पृष्ठभूमि
यो टकराव उत्पन्न हुनुका धेरै कारण छन्। तर प्रतिस्पर्धी रणनीतिक उद्देश्य यसको जड हो।
भारत र चीनबीच ३,४४० किलोमिटर लामो सीमा छ र विभिन्न स्थानका भूभागलाई लिएर आ-आफ्नै दाबी छ। सन् १९५० देखि नै चीनले ब्रिटिश औपनिवेशिक कालमा तय गरिएको सीमालाई मान्यता दिन अस्वीकार गर्दै आएको छ ।
फलस्वरूप सन् १९६२ मा दुई देशबीच युद्ध भयो जसमा भारत नराम्ररी पराजित भयो।
आ-आफ्नै दाबी
त्यो युद्धपछि भारत र चीन दुवैले आफ्नो भूमि मिचिएको आरोप लगाउँदै आएका छन्। भारतका अनुसार चीनले उसको ३८,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ जुन हालको तनाव देखिएको क्षेत्रमा पर्छ।
चीनले भने अरुणाचल प्रदेशमाथि दाबी गर्दै आएको छ। चीनले उक्त क्षेत्रलाई दक्षिण तिब्बत भन्ने गरेको छ। त्यसबाहेक पनि अन्य विभिन्न क्षेत्रमा सीमाबारे दुई देशका आ-आफ्नै दाबी छन्।
लद्दाखमा राम्रोसँग सीमाङ्कन नगरिएको लाइन अफ एक्चुअल कन्ट्रोलमा धेरै नदी, ताल र हिमपर्वत छन् जसको अर्थ दुई देशका सेना तैनाथ गरिएको क्षेत्र आफैँ सर्न सक्छ र उनीहरू टकरावको स्थितिमा पुग्छन्।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७, १२:१८