काठमाडौं । लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामा स्रोत व्यवस्थापन गर्न सरकारी कर्मचारीको भत्ता कटौती भइसकेको छ । तर सांसदहरुले चैतमा बैठकसमेत नहुँदा पूरा तलबसँगै र अरू भत्ता पनि लिइसकेका छन् । सांसदले मासिक तलबबापत ६४ हजार रुपैयाँ पाउँछन् । हरेक बैठक (समितिको समेत) मा उपस्थित भएबापत गाडी भाडा र बैठक भत्ता दिइन्छ । सचिवालयका एक कर्मचारीले भने, ‘कारोनाकै कारण कर्मचारीले पाउने भत्ता काटिएको छ । सांसदहरुले भने गाडी नचल्दा पनि गाडी भाडा लिइरहेको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेख्नु भएको छ ।
संसद् सचिवालय स्रोतका अनुसार वैशाखमा बैठक र यातायात भत्ताबापत करिब ५० लाख रुपैयाँ भुक्तानी भएको छ । यो रकम चैत, वैशाखको संसद् बैठक र यसअघिको समिति बैठकमा सहभागी सांसदको हो । संसद् बैठकमा सहभागी सांसदलाई गाडी भाडाबापत चैत र वैशाखको मात्रै करिब १५ लाख रुपैयाँ भुक्तानी गरिएको छ । राष्ट्रिय सभा बैठक चैत र वैशाखमा ४–४ दिन चलेको थियो । जसका लागि सांसदलाई ४ लाख रुपैयाँभन्दा बढी यातायात भत्ता दिइएको छ ।
प्रतिनिधिसभा बैठक चैतमा ४ दिन र वैशाखमा ५ दिन भएको थियो । प्रतिनिधिसभाका सांसदलाई यातायात भत्ता करिब ११ लाख रुपैयाँ बैंक खातामा पठाइएको छ । भत्ता लिनेमा ३१ जना पदाधिकारीबाहेक सबैजसो सांसद छन् ।
सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष संसदीय समितिका सभापति, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकलगायत ३१ पदाधिकारीका लागि भने संसद् सचिवालयले गाडी सुविधा दिइएको छ । ‘लकडाउनमा म यातायात भत्ता लिन्न भनेर कोही पनि माननीयले भन्नुभएको छैन,’ सचिवालयका एक कर्मचारीले भने, ‘त्यसैले सबैको बैंक खातामा पठाइसक्यौं ।’
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७, ०६:३८