पर्वत । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज बिहान थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान तीन पटक अलगअलग प्रेस विज्ञप्ती प्रकाशित गरेर कोरोना संक्रमित बढेको जानकारी दिएको हो ।
निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार आज नवलपरासीमा ३१ जना, तनहुँमा १५ जना, गोरखामा ११ जना, स्याङजा र पर्वतमा नौ/नौ जना, बागलुङमा एक जना र मनाङमा एक जनामा संक्रमण पुष्टि भएको छ ।
पर्वतमा आईसोलेसनमा रहेका एक जना पुरुषको दोस्रो परीक्षणमा पनि कोरोना संक्रमण नै देखिएको निर्देशक शर्माले जानकारी दिनुभयो ।
अहिलेसम्म सुरक्षित रहेको मनाङमा भने कपिलवस्तु जिल्लाको वाणगंगा १४ स्थायी ठेगाना भई चामे गाउँपालिकामा कार्यरत कर्मचारी संक्रमित भएका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७, १२:३५