काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले चैत मसान्त वा वैशाख पहिलो साताभित्र ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने बताउनु भएको छ ।
मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री विश्वकर्माले प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि बाँकेको रङ्गशाला निर्माणको काम तीव्रताका साथ भइरहेको जानकारी दिँदै उहाँले रङ्गशालाको भीआईपी प्याराफिटको छाना छाउने काम १५ दिन भित्रमा सक्नेगरी तयारी भइरहेको बताउनुभयो ।
युवाको क्षमता विकासका लागि ९ सय ६४ जना युवालाई सीप तथा उद्यमशीलता विकास तालिम दिइएको, १ सय ४२ जना युवालाई लोपोन्मुख परम्परागत सीपसम्बन्धी तालिम दिइएको, ३ सय ९ जना युवा उद्यमीलाई उद्यमशीलता र वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी तालिम तथा ५ हजार ७ जना युवालाई विभिन्न विषयमा परामर्श सेवा प्रदान गरिएकोलाई मन्त्रीले उपलव्धिका रूपमा उल्लेख गर्नुभयो ।
युवालाई परामर्श दिई समाजमा रहेका विविध विकृति एवम् विसङ्गति विरुद्ध परिचालन गरी सभ्य समाज निर्माणको प्रयास गरिएकोलाई पनि उपलव्धि ठानिएको छ ।
४७ जिल्लाका स्वदेशी स्काउट र ६ देशका विदेशी स्काउट गरी ५ हजार ५ सय ६५ जनाको सहभागितामा तेस्रो राष्ट्रिय ज्याम्बोरीको आयोजना गरिएको, ६ सय ३३ वटा संस्थाहरूसँग कर्जा लगानी सम्झौता गरिएको, १४ हजार ७ सय ५५ जना व्यवसायीहरुको अनलाइन बीमा भएकोलाई पनि मन्त्री विश्वकर्माले उपलव्धिका रूपमा व्याख्या गर्नु भएको छ ।
खेलकुद क्षेत्रको समग्र विकासका लागि भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण, ७ वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माण र ७ सय ५३ वटै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने लक्ष्यका साथ काम सुरु भएको उहाँको भनाइ छ ।
यसअन्तर्गत अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर (रङ्गशाला) निर्माणका लागि भक्तपुरमा जग्गा प्राप्तिको प्रक्रिया प्रारम्भ भएको, काठमाडौँको मूलपानीमा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानको जग्गा विवाद समाधान भई आगामी २ वर्षमा सम्पन्न हुने गरी निर्माण प्रक्रिया अगाडि वढाइएको पनि उहाँले उल्लेख गर्नुभयो ।
७ वटै प्रदेशमा आधुनिक सेवा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने नीति अनुरुप प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ३ वटा रङ्गशाला निर्माण कार्य सुरु भएको र अन्य प्रदेशमा भइरहेका रङ्गशालाको स्तरोन्नति कार्य अगाडि बढेको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।
७ सय ५३ वटै स्थानीय तहमा १÷१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माण गर्नका लागि स्थानीय तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा आएको पनि उहाँले जानकारी दिनुभयो ।
भूकम्पका कारण क्षतिग्रस्त भएको दशरथ रङ्गशाला लगायतका अन्य संरचनाको पुनर्निर्माण कार्य करिब ८० प्रतिशत पूरा भई निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको पनि उहाँको भनाइ छ ।
१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको पनि विश्वकर्माले जानकारी गराउनुभयो ।
प्रदेश ५ को नेपालगञ्ज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको जानकारी दिँदै उहाँले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा ६ वटा रङ्गशाला, १९ वटा कभर्डहल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्य भइरहेको पनि बताउनुभयो ।
खेलकुदको विकास सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक छलफलका लागि संघीय संसदमा पेश भएको, राष्ट्रिय युवा परिषद् ऐन, २०७२ लाई संशोधन गर्न वनेको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश भएकोलाई पनि मन्त्री विश्वकर्माले उपलव्धिका रूपमा व्याख्या गर्नु भएको छ ।
नेपाल स्काउट सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको राय, परामर्श प्राप्त भई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५, १७:११